‘विद्युत् विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत

दियो पोस्ट  

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले पेश गरेको विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री बस्नेतले विधेयक आवश्यकतामा आधारित रहेको भन्दै सबै क्षेत्रलाई समेटेको बताए ।

मन्त्री बस्नेतले नेपालको आन्तरिक खपतलाई मध्यनजर गरेर मात्र विद्युत् निर्यात गरिने भन्दै विद्युत् प्रसारणका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले रणनीति बनाएर काम गरिरहेको जानकारी दिए ।