धरहरा परिसरमा निः शुल्क पार्किङ

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडवाडलाई लक्षित गर्दै धरहराको भूमिगत तलासहित तीन तलामा निःशुल्क पार्किङ शुरु गरेको छ । काठमाडौं महानगरपालिका–२२ को व्यवस्थापन दशैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै धरहरामा सोमबारदेखि पार्किङ शुरु गरिएको हो ।

सोमबार कामपा प्रहर सहितको टोलीसँगै पार्किङको अवस्थाबारे जानकारी लिन धरहरा पुगेका २२ नं. वडाका वडा अध्यक्ष चिनीकाजी महर्जनले कामपा प्रहरी, स्थानीय र निजी सुरक्षागार्डको सहयोगमा पार्किङ खुला गरेको जानकारी दिए । उनले भने–‘अहिले करिब डेढ महिनाको लागि निःशुल्क पार्किङ खुला गरेका छौं । त्यसपछि व्यवस्थापन गर्नसके सधैंको लागि पार्किङ खुला गराउेछौं ।’ पार्किङ गर्न मिल्ने भएपछि सफाइ गरी सुरक्षाकर्मी परिचालन गरेर निःशुल्क पार्किङको व्यवस्था मिलाइएको जानकारी दिँदै उनले भने–‘आजबाट परीक्षणको रुपमा शुरु गरेका छौं । छठपछि थप व्यवस्थित गराउनेछौं ।’

कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले करिब ३ सयको हाराहारिमा दुईपाङ्ग्रे र करिब १ सय ५० जति चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्नेगरी व्यवस्थापन गरिएको जानकारी दिए ।

यसैबीच कामपाले न्युरोड क्षेत्रको फुटपाथ क्षेत्र बढाएर सडकमा पार्किङ निषेध गर्ने तयारी गरेको छ । न्युरोड वरपर रहेका खाली क्षेत्र, सपिङ मलको भूमिगत तला खाली गराई ती क्षेत्रमा पार्किङ व्यवस्थापन गरी न्युरोड क्षेत्रलाई सवारीसाधनमुक्त बनाउने कामपाको तयारी रहेको छ ।

कामपा प्रहरी प्रमुख पाण्डेले चाडवाड सकिएलगतै न्युरोड क्षेत्रलाई सावरीसाधनमुक्त क्षेत्र बनाउन लागिएको जानकारी दिँदै स्थानीयको सवारी साधनलाई पास वा अन्य विकल्प प्रयोग गरेर प्रवेश गर्न दिनेगरी तयारी भइरहेको जानकारी दिए ।

आजको नेपाल समाचारपत्र पत्रिकामा खबर छ ।

सिफारिस