नेपालमा पहिलोपटक पारिवारिक इजलास

  बालबालिका र महिला मुद्दामा छिट्टै न्याय मिल्ने आशा

दियो पोस्ट  

काठमाडौं । अन्यायमा परेका महिलालाई छिटोछरितो न्याय दिने उद्देश्यले नेपालमा पहिलो पटक काठमाडौं जिल्ला अदालतमा सोमबारदेखि पारिवारिक इजलासमा मुद्दा सुनुवाइ थालिएको छ । पारिवारिक बेमेलका घटना बढ्दै जाँदा महिलावादी भएका र परिवारसँग जोडिएका मुद्दालाई निरन्तर सुनुवाइ गर्नेगरी पारिवारिक इजलास गठन भएको हो ।

काठमाडौं जिल्ला अदालतमा विचारधीन अवस्थामा रहेका महिलावादी मुद्दा पारिवारिक इजलासमा सुनुवाई हुनेछन् । ती मुद्दा छिटोछरितो छिनोफानो भएर महिलाले न्याय पाउने आशा गरिएको छ । छिमेकी मुलुक भारतसहित विश्वका विभिन्न देशमा पारिवारिक अदालत नै गठन गरेर त्यससम्बन्धी मुद्दा छिन्ने गरिएको पुरानो अभ्यास छ । भारतले पनि करिब ४० वर्षअघि ( सन् १९८४ मा) पारिवारिक अदालतसम्बन्धी कानुन ल्याएको थियो । नेपालमा भने जिल्ला अदालतमा भर्खर दुईवटा इजलासले महिलावादी भएका निश्चित पारिवारिक मुद्दा हेनेगरी सुरु गरिएको हो ।

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार पारिवारिक इजलासमा जाने महिलावादी भएका तोकिएका मुद्दाको संख्या ५ सय ९७ थान छन् ।

देशभरिका जिल्ला अदालत मध्ये सबैभन्दा मुद्दाको चाप हुने काठमाडौं जिल्ला अदालतमा दुईवटा पारिवारिक इजलास गठन भएका छन् । ती इजलासमा महिलावादी भएका अंश, नाता कायम घरेलु हिंसा, बालबालिकाकोे संरक्षण भई दर्ता भएका अंश विशेष हेरचाहलगायत बालबालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाहरुको सुनुवाइ हुनेछ । सम्बन्ध विच्छेद सम्बन्धी मुद्दालाई भने यसमा राखिएको छैन । सम्बन्ध विच्छेदमा कानुनी अध्ययनपछि मात्रै राखिने स्रेस्तेदार शर्माले बताए । सर्वेच्च अदालत व्यवस्थापन समितिले काठमाडौं जिल्ला अदालतबाटै सुरु गर्ने निर्णय गरेको हो । दुईवटा इजलासबाट तोकिएका महिलावादी भएका मुद्दा निरन्तर सुनुवाइ हुनेछन् स्रेस्तेदार शर्माले भने ।

अन्य मुद्दासँग लगाव भएका पुरुषवादी भएका मुद्दा भने पारिवारिक इजलासमा हेरिनेछैन । प्रधानन्यायाधीश श्रेष्ठले इजलास उद्घाटन गर्दै महिला केन्द्रित गरिएको बताएका छन् । पीडा तथा अन्यायमा परेका महिलालाई न्याय दिनका लागि काठमाडौं जिल्ला अदालतमा मात्रै सुरु गरिएको श्रेष्ठले बताएका थिए । तत्कालका लागि काठमाडौं, भक्तपुर, ललितपुर हुँदै विभिन्न जिल्लामा सुनुवाइ सुरुवात गर्ने बताइएको छ ।

आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।

सिफारिस