
काठमाडौं । विभिन्न स्थानमा जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । बर्दियामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बस्ने १७ वर्षीय किशोर रहेका छन् । किशोरले ती किशोरीलाई सोही नगरपालिका–३ गोदानास्थित घरमा लागि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई पक्राउ गरेको हो । साथै पीडितलाई ललाई फकाई गर्ने ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बस्ने २९ वर्षीय अतल बहादुर थारूलाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यसैगरी मुस्ताङमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोमान्थाङ गाउँपालिका–३ बस्ने २६ वर्षीय जप्याङ गुरूङ रहेका छन् । गुरूङले ती बालिकालाई थासाङ गाउँपालिका–२ स्थित विद्यालयको कक्षाकोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लोमान्थाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।