
काठमाडौं । दसैं बिदा सुरु नहुँदै सरकारी कर्मचारीहरु धमाधम भ्रमण आदेश (काज) स्वीकृत गराउँदै गृह जिल्ला अथवा घर नजिकका जिल्ला जान थालेका छन् । यसबाट अत्यआवश्यकीय सरकारी सेवा समेत प्रभावित हुन थालेको छ ।
भ्रमण आदेश स्वीकृत गराएपछि सरकारी कर्मचारीलाई दोहोरो–तेहोरो फाइदा हुन्छ । काज स्वीकृत गराएमा बिदाभरि सरकारी सवारीसाधन प्रयोग गर्न पाइन्छ । यसैगरी अतिरिक्त भ्रमण भत्ता पाइन्छ । यसबाहेक तोकिएको बिदा भन्दा लामो समय गृह जिल्लामा बस्न पाइन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार विशेष गरी दुर्गम तथा हिमाली जिल्लाका कर्मचारीको हकमा भने काज स्वीकृत गराउनुपर्ने बाध्यता नै हुन्छ । मन्त्रालयको आन्तरिक प्रशासन शाखाका अनुसार यो हप्ता मन्त्रालयमा कार्यरत २७ जना कर्मचारीले भ्रमण आदेश स्वीकृत गराएका हुन् । अन्य मन्त्रालय र कार्यालयमा पनि सोही अवस्था छ ।
नियमअनुसार मन्त्रालयमा महाशाखा प्रमुख (सहसचिव) तथा अन्य कार्यालयमा कार्यलाय प्रमुखले भ्रमण आदेश स्वीकृत गराउने व्यवस्था छ । सचिवको हकमा भने मुख्यसचिवले काज स्वीकृत गर्ने गर्छन् । कार्यालय प्रमुख अथवा महाशाखा प्रमुखले भ्रमण आदेशमात्र स्वीकृत गराउँदैनन्, उनीहरुले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन काजमा बसेको दिनमा पनि प्रयोग गर्न स्वीकृत लिने गर्छन् । महाशाखा प्रमुख या कार्यालय प्रमुखले चिठी बनाएपछि सरकारी सवारीसाधन प्रयोग गर्दै आएका कर्मचारीले सरकारी सवारीसाधन ढुक्कसँग प्रयोग गर्ने गर्छन् । सरकारी सवारीसाधन प्रयोग नगर्ने कर्मचारीले भने हवाईजहाज टिकटको सुविधा पाउँछन् । हवाईजहाज नजाने जिल्लामा गाडीको टिकट सुविधा पाउँछन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार काज स्वीकृति सामान्यतया एक हप्ताका लागि गरिएको हुन्छ । नियमअनुसार भ्रमण भत्ता भने दर्जाअनुसार पाउँछन् ।
नियममा भ्रमण आदेश स्वीकृत गर्ने अधिकार मन्त्रालयका सचिवलाई हुन्छ । तर सचिवले मन्त्रालयमा महाशाखा प्रमुख तथा अन्य कार्यालयमा कार्यालय प्रमुखलाई काज स्वीकृत गराउने अधिकार प्रत्योजन गरेका हुन्छन् । संघीय मामिला मन्त्रालयका प्रक्क्ता तथा सहसचिव कमल भट्टराईले भने भ्रमण आदेश स्वीकृति काम गर्नकै लागि दिने गरेको बताउँदै भने, ‘कामकै लागि भ्रमण आदेश स्वीकृत गरेका हुन्छन् । भ्रमण आदेश स्वीकृति गरेको समयमा कार्यालयबाट तोकिएको काम गर्नुपर्छ ।
यति बेला भ्रमण आदेश स्वीकृत गराउने कर्मचारीको संख्या बढेको विषयलाई उनले इन्कार गरेनन् । ‘यो समय भनेको काम गर्ने समय हो । नयाँ आव भखरै सुरु भएको हुन्छ । नयाँँ कामको भार थपिएको हुन्छ । त्यसकारण पनि यतिबेला काज स्वीकृत गराउने कर्मचारीको संख्या बढेको हुन सक्छ,’ समान्य प्रशासन मन्त्रालयका एक उपसचिव भन्छन्, ‘सुगम जिल्लामा भ्रमण आदेश स्वीकृत गराउनु भनेको थप बिदा र पैसाका लागि मात्र हो तर दुर्गम जिल्लामा भने काज स्वीकृत गराउनु बाध्यता नै हो ।’ ती कर्मचारीका अनुसार काठमाडौंबाट विकट हिमाली जिल्लामा पुग्न तीन दिन लाग्छ । दसैंमा उपलब्ध गराएको बिदा घर जान आउन पुग्दैन । त्यस्तो अवस्थामा कर्मचारीेले बिदा लिनुपर्छ अथवा भ्रमण आदेश स्वीकृत गराउनुपर्छ । ती कर्मचारी भन्छन्, ‘बिदा लिए भने सरकारले दिएको तलब जानआउनमै सकिन्छ । भ्रमण आदेश लिएपछि कमसेकम जानआउन लागेको खर्च बच्छ । यो व्यावहारिकता पनि हामीले हेर्नुपर्छ ।’
दसैं सुरु हुने बित्तिकै कर्मचारीले काज मिलाउदै गृह जिल्ला जान थालेपछि सरकारी कार्यालयमा कर्मचारीको उपस्थिति ह्वात्तै घटेको छ । काठमाडौं घर भई काठमाडौंबाहिरका कार्यालयमा काम गर्दै आएका सरकारी कर्मचारी पनि काज स्वीकृत गराउँदै काठमाडौं आउने गरेका छन् । यसबाट काठमाडौंबाहिर पनि सेवा प्रवाहित भएको छ ।
आजको नागरिक दैनिकमा खबर छ ।