विमानस्थलका पसलहरु कारबाहीमा

दियोपोस्ट संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका किराना, चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको केन्द्रीय संयुक्त बजार अनुगमन टोलीले मङ्गलबार विमानस्थलमा आठ वटा पसल र होटल तथा रेस्टुरेन्ट अनुगमन गर्दा बाहिरभन्दा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको हो ।

विमानस्थलमा रहेका ती पसलमा विदेश जाने र देश भित्रिने यात्रुले चिया, वा कफी, जुस वा कुनै वस्तु किन्नु प¥यो भने बाहिर भन्दा चार गुणा बढी सम्म मूल्य तिर्न बाध्य हुँदै आएका थिए । कुनै पनि वस्तु सेवाको अनुचित मूल्य लिनु कानुनी रुपमा अपराध हो । विमानस्थलका पसलेले यात्रुसँग मूल्यसँगै गुणस्तरमा समेत ठगी भएको पाइएको छ । दसैंमा विदेशबाट आउने यात्रु अझै ती पसलबाट ठगिने गरेका छन् । वस्तु तथा सेवाको नाममा मनपरी मूल्य लिनेलाई नियमन र अनुगमन गरी अनुचित कारोबार भएको पाइएमा कानुनी कारबाही गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोमबार विमानस्थल भित्र रहेका पसलमा बिक्री गरिने सामानको मूल्यबारेमा चासो राखेर मूल्य अनुचित भएको भने प्रश्न गरेपछि केन्द्रीय संयुक्त अनुगमन टोलीले मंगलबार सो क्षेत्रका पसलको अनुगमन गरेर कारबाही गरेको हो ।

विमानस्थलभित्र एक कप चिया पिउँने पैसाले बाहिर सामान्य होटलमा पेटभरि खाना खान पुग्छ । यो विषयमा यसअघि राष्ट्रिय मानव अधिकार आयोगले विमानस्थलमा रहेका पसलको मूल्य, गुणस्तरको नियमन र अनुगमन गरेर कानुनी कारबाहीका लागि आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको थियो ।

विभागका बजार अनुगमन निर्देशक आनन्द पोखरेल नेतृत्वको टोलीले विमानस्थल परिसरका आठ वटा पसललाई अनुगमन गरेको र तीन वटालाई एक लाखदेखि दुई लाख रुपियाँसम्म जरिवाना गरेर एकै दिनमा चार लाख राजस्व सङ्कलन गरेको छ । विभागको अनुगमन टोलीले ढिलै भए पनि अन्तर्राष्ट्रिय विमानस्थतलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र सञ्चालित चिया तथा कफीलगायतका आठ वटा पसलको अनुगमन गरेर अनुचित मूल्य लिनेलाई जरिवाना गरेको छ ।

विभागका अनुसार विभागको अनुगमनका क्रममा अधिकाशं विमानस्थलभित्रका पसलेले अधिकतम मूल्य भन्दा बढी लिएको, आफ्नै गरेको वा गुणस्तर, परिणाम, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएको विभागका निर्देशक पोखरेलले जानकारी दिए । विमानस्थलभित्र रहेको आठ वटा पसलको अनुगमन गरिएकोमा सबै एउट न एउटा कारबाहीमा परेको उनको भनाइ छ । उनका अनुसार अनुगम गरिएको आठ वटा पसल तथा होटलमध्ये चार वटालाई आवश्यक कागजातसहित बुधबार नै विभागमा उपस्थिति हुन निर्देशन दिएको छ । तीन वटालाई जरिवाना गरियो भने एउटा पसलमा म्याद नाघेका सामान रहेको भेटिएकाले नष्ट गरिएको छ ।

देशको राजधानी रहेको अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका पसलमा उपभोग्य म्याद सकिएर रिलेबलिङ गरेका सामान बिक्री गर्नु देशकै लागि लज्जास्पद भएको भन्दै उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बताए । विमानस्थलमा सर्वसाधारण यात्रु ठगिएकाले त्यस क्षेत्रमा बेला बेलामा अनुगमनको आवश्यकता औँल्याए ।

विभाग महानिर्देशक तीर्थराज चिलवालले विमानस्थलमा रहेका किराना, चिया तथा कफी पसल र होटल तथा रेस्टुरेन्टमा केही न केही समस्या रहेको अनुगमनका क्रममा पाइएको बताए । त्यस क्षेत्रमा रहेका अधिकाशं पसलेले तोकेको वा सामनमा उल्लेखित अधिकतम खुद्रा मूल्यभन्दा धेरै लिएकाले कालो बजारी ऐन अन्तर्गत मुद्दा चलाउने विषयम पनि छलफल भएको उनको भनाइ छ ।

आजको गोरखापत्र पत्रिकामा खबर छ ।

सम्बन्धित खबर