छुट्टाछुटै ठाउँबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरी कुमारीस्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्रामसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय क्षिरिङ्ग लामासहित ४ जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले क्षीरिङ्गको कोठा तलासी गर्ने क्रममा उनीहरूलाई उक्तद पदार्थसहित बुधबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेबाट नियन्त्रित लागूऔषध स्पासमो ५ हजार ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–९ बस्ने २० वर्षीय दिप तामाङ रहेका छन् । अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–००१ ख ९६३६ को बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित बुधबार बेलुकी पक्राउ गरेको हो ।

साथै बाराको सुवर्ण गाउँपालिका–७ संफुलवा र चौरहियाको बिचबाट करिब २५ किलोग्राम गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बडकी फुलवरिया र बिओपि सशस्त्र बेसक्यामप संफुलवाबाट खटिएको संयुक्त गस्ती टोलीलाई देख्नासाथ ५ जना ब्यक्तिहरुले पछाडि भिरेको झोला फाली भागेका थिए । भागेपश्चात प्रहरीले उक्त झोला तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।