म्यानपावरकै पोल्टामा वैदेशिक रोजगार विभाग

दियो पोस्ट  

काठमाडौं । ‘वैदेशिक रोजगारविभागका कर्मचारीहरु पीडितबाट लाखौंलाख ठगी गर्ने–म्यानपावार कम्पनीका सञ्चालकलाई कारबाही गर्नुको साटो ससुराली झैं स्वागत गर्छन्,’ विभाग पुगेकी एक पीडितले आक्रोशित हुँदै भनिन्, ‘महिनौं विभाग धाउँदा पनि न्याय पाइँदैन । विभागका कर्मचारीहरु म्यानपावरकै पक्षमा हुन्छन् । विभागका वरिष्ठ कर्मचारी उल्टै हामीलाई थर्काउँछन् ।

म्यानपावरवालाले तिमीहरु जे सुकै गर, हाम्रो पहुँचमा मान्छे छन् भन्दा विभागका कर्मचारी मनौ बस्छन् । म्यानपावर र कर्मचारीको व्यवहारबाट आजित पीडितहरु वैदेशिक रोजगार विभागमा न्यायका लागि जोड्दै हरदिन रोइरहेका भेटिन्छन् । समस्या र ठगीमा परेका पीडित न्यायको भिख माग्दै महिनौं विभाग धाउँदा पनि विभागका कर्मचारीहरु ध्यान दिँदैनन् । तपाईहरु आफै बेइमान हो । एकचोटी भनेको बुझनुहुन्न । १० चोटी भन्नुपर्छ । काम गर्दै त छौं नि ? धैर्य भन्ने छैन,’ यसरी विभागका कर्मचारी र म्यानपावर सञ्चालकको एकै बोलीमा गाली गरेको बताउँछिन काभ्रेकी जानु लामा । स्वदेशबाट श्रम स्वीकृत लिएर मलेसिया पुगेका ३० वर्षीय गगनबहादुर लामा उनका भाइ हुन् । मलेसिया गएका आफ्ना भाइलाई स्वदेश फर्काइदिन आग्रह गर्दै उनी विभाग धाइरहेकी छन् ।

पुरानो बानेश्वरको भिमसेनगोलास्थित एमिनेन्स रिक्रुटमेन्ट इन्टरनेसनल प्रालिबाट उनका भाइ गगनबहादुरलाई मलेसियास्थित जी फिफ्टिन सेक्युरिटी एसडिएन बिएचडी कम्पनीम सेक्युरिटी गार्डको काममा पठाइएको थियो । ‘भाइ मलेसिया पुगेको आठ महिना देखि दैनिक १२ घण्टाभन्दा बढी समय काम गर्दै आए पनि तीन महिनादेखिको तलब र खाना खर्चसमेत दिएको छैन । पैसाबिना स्वदेशमा त बाँच्नलाई गाह्रो छ । विदेशमा उसको के हालत होला ?’ गगनबहादुरकी दिदि जानुले भनिन् । ‘दिदि यहाँँ मसहित २७ जना नेपालीको बिचल्ली छ । महिनाभरि खटिएर काम ग¥यो, सुको पैसा आउँदैन । बिरामी भएको छु’ भाइको भनाइ उद्धत गर्दै जानुले भनिन् ।

औषधीमुलो गरौं भन्दा कम्पनीले सुन्दैन । उपचार किन गर्नुप¥यो ? तिमीहरु मरे बाकसमा नेपाल पठाइदिउँला भन्छन् । मलाई आफ्नै देश फर्किनु छ,’ भाईलाई उद्धर गर्दै जानुले भनिन् । भाइ मलेसिया पुगेदेखिका समस्यालाई लिएर सयौं पटक म्यानपावर धाउँदा पनि उक्त एमिनेन्स रिक्रुमेन्ट इन्टरनेसनल म्यानपावरका सञ्चालक राधा केसीकै ठुलो स्वर हुने गरेको जानु बताउँछिन् । उक्त म्यानपावर कम्पनीलाई २ लाख १० हजार तिरेर उनी मलेसिया पुगेका हुन् । मासिक तलब १५ सय रिंगेट हुन्छ भनिएको थियो । भाइलाई अर्को ठाउँमा सार्न या स्वदेश फकाईदिन म्यानपावर सञ्चालक केसीलाई जानुले अनुरोध गर्दै आएको उनी बताउँछिन् ।

आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।