प्रधानमन्त्री लुम्बिनीमा, महासचिव गुटेरेस पनि जाँदै

दियो पोस्ट  

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी यहाँ आइपुगेका हुन् ।

अन्नपूर्ण बेसक्याम्पबाट आजै भैरहवा आएका महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री दाहाल यहाँ आइपुगेका हुन् । लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारकल लामालगायतले स्वागत गरे ।

सुरक्षा व्यवस्थालाई ध्यान दिँदै आज बिहानबाट यहाँस्थित मायादेवी मन्दिरमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ भने तीन तहको सुरक्षा घेरा बनाइएको छ । गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुन् । गुटेरेसको लुम्बिनी भ्रमण प्रधानमन्त्री दाहालको उपस्थितिमा हुने भएकाले यसको महत्व बढ्ने कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे)ले बताए ।

उपाध्यक्ष लामाले लुम्बिनीको विकास र संवर्दनमा संयुक्त राष्ट्रसङ्घको भूमिकालाई आगामी दिनमा थप प्रगाढ बनाउनसमेत भ्रमण फलदायी हुनेमा विश्वास व्यक्त गरे । गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् । गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोकस्तम्भको भ्रमण गर्ने कार्यसूची छ ।

उनीलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउमा रहेको पीपलको रूखमुनि स्वागत गर्ने कार्यक्रम छ । लुम्बिनीमा करिब डेढ घण्टा बिताएपछि गुटेरेस काठमाडौं फर्कनेछन् । कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो प्रदान गरिनेछ । साथै अतिथि पुस्तकमा हस्ताक्षरपछि महासचिव गुटेरेसले सञ्चारमाध्यमसमक्ष आफ्नो धारणा राख्ने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।