सूर्यदर्शन ठगीमा महिला पक्राउ, बचतकर्ताको ३ करोड आफ्नो खातामा सारेको आरोप

सूर्यदर्शन सहकारी ठगी प्रकरणः

दियोपोस्ट संवाददाता  

काठमाडौं । सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार गुल्मीको मुसीकोट नगरपालिका–४ स्थायी घर भइ ललितपुर १५, खुमलटार बस्ने ३२ वर्षीया लीला पछाईंलाई पक्राउ गरेको हो।

उनीमाथि सूर्यदर्शनका अध्यक्ष तथा बचत हिनामिनाका मुख्य अभियुक्त गीतेन्द्रबाबु राईसँग मिलेर ३ करोडभन्दा बढी रकम आफ्नो खातामा सारेको अभियोग छ।

प्रहरीका अनुसार सहकारीबाट लगेको सो पैसाबाट उनले चल–अचल सम्पत्ति खरिद गरेको तथा शेयर कारोबारसमेत गर्ने गरेको कास्की प्रहरीले जनाएको छ ।

लीला पछाईं र जीबी राईबीचको सम्बन्ध के हो भन्ने प्रहरीले खुलाएको छैन। लीला यो सहकारी प्रकरणमा नाम किटान भएकी र फरार सूचीमा भएकी व्यक्ति भने होइनन् ।

तर, छानबिनको क्रममा सहकारीबाट अवैध रुपमा उनले सहकराीबाट रकम लिएको देखिएको हो। जीबी राईको नजिककी मित्रको रुपमा रहेकी र राजनीतिक नेतृत्वलाई रिझाउने उपक्रममा खर्चने पैसासमेत सूर्यदर्शनबाट उनकै नाममा लगिएको स्रोतको दाबी छ।

सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धान गर्न आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पोखरामै छ।

TATA ADD