
घाइतेको उद्धार गर्दै प्रहरी त्रिशूली (नुवाकोट), १९ असोज ः पृथ्वी राजमार्ग व्यस्त भएपछि विकल्पमा ‘टोखा–छहरे सडक खण्ड’ हुँदै लमजुङ जाँदै गरेको हाइलक्स नुवाकोटको शिवपुरी गाँउपालिका–८ काफलडाँडामा शनिबार दुर्घटना हुँदा घाइते भएकाहरुको उद्धार गर्दै नेपाल प्रहरी । बा१४च ३८५४ नं को हाइलक्स दुर्घटना हुँदा एक जनाको निधन र पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । तस्बिर ः रामहरि न्यौपाने÷रासस
काठमाडौं । काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको सुपरदोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।
बा१४च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी गाउँपालिका–८, काफलडाँडामा दुर्घटना हुँदा काठमाडौंका ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । गम्भीर घाइते खनालको उपचारका निम्ति काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।
उक्त दुर्घटनामा घाइते भएका गाडी चालक ४६ वर्षीय विश्वनाथ अधिकारी, ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल, ५१ वर्षीया गायत्री खनाल र ६३ वर्षीय चन्द्रनाथ शर्माको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।