रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने, म्याद थपिँदै

दियोपोस्ट संवाददाता  

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित हुँदै छन् । अनुसन्धानका लागि उनलाई आज म्याद थपिनेछ ।पोखरामा सहकारी पीडित र रास्वपाका नेता–कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्थालाईसमेत कडाई गरिएको छ ।

रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन् । रास्वपाका सबैजसो शीर्ष नेताहरु पोखरामै आएर शनिबारदेखि नै प्रदर्शन तथा दबाव कार्यक्रमको नेतृत्व गरिरहेका छन् ।

रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रममा उपस्थित भइदिनका लागि आह्वान गरेका छन् भने सहकारी पीडितहरुले अनुसन्धान र न्यायका निम्ति कुनै कसर नराख्न दबाब दिँदै शहीद चोक नजिकै राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् ।

शुक्रबार पक्राउ पुर्जीमात्रै जारी गरेर रातारात पोखरा ल्याइएको भए पनि भोलिपल्ट शनिबार परेकाले उनलाई आज आइतबारमात्रै अदालत खुलेपछि उपस्थित गराउन लागिएको हो ।

सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पटक पटक गरेर सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा शुक्रबारमात्र रविसहित १४ जनाविरुद्ध थप पक्राउ पुर्जी जारी भएको छ ।

उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर अर्याल, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पनि पुर्पक्षका लागि थुनामै छन् ।

सिफारिस