‘द प्रकाश सुवेदी शो’बाटै रवि लामिछाने कारागार ‘चलान’ !

दियोपोस्ट संवाददाता  

काठमाडौं । गत शुक्रबार बनस्थलीस्थित रास्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाटै पूर्वगृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने पक्राउ परे । पोखराको सुर्यदर्शन सहकारीको बचत रकम उनी प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा अपचलन गरेको अभियोगमा उनी विरुद्ध कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ पछि उनलाई सडक मार्ग हुँदै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनी विरुद्ध संगठीत अपराध, किर्ते र ठगी अभियोगमा अनुसन्धान हुँदैछ । रवि लामिछाने विरुद्ध संगठित अपराधमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ ।

कुनै पनि व्यक्ति विरुद्ध प्रहरी अनुसन्धानका लागि हिरासतमा राख्न अदालतबाट अनुमति लिनुपर्ने हुन्छ । अनुसन्धान प्रतिवेदन सरकराी वकिल कार्यालयमा बुझाउँछ । सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार पारी अदालतमा पेश गरेपछि थुनछेक बहस हुन्छ । पक्राउ परेका अभियुक्तलाई थुनछेक बहसपछि न्यायाधिशले कारागारमा बन्दी बनाएर अनुसन्धान गर्न अनुमति दिएको खण्डमा त्यस्ता व्यक्ति कारागार चलान हुन्छन् र यसरी कारागार बस्नुलाई जेल बस्नु भनिन्छ । फैसला नहुँदासम्म फौजदारी कसुर आकर्षित भएका मुद्दाहरुमा अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्ने प्रचलन छ । त्यतिबेलासम्म जेलमा बस्नेहरुलाई बन्दी भनिन्छ भने फैसलापछि कारागार बस्नुलाई कैदी भनिन्छ ।

पूर्वगृहमन्त्री लामिछाने विरुद्ध आइतबार जिल्ला अदालत कास्कीले ६ दिन म्याद थपको हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । तर, काठमाडौंबाट प्रशारित हुने एक टेलिभिजन कार्यक्रम प्रस्तोताले भने उनलाई कारागार चलान गरिदिएका छन् । त्यतिमात्रै होइन लामिछाने जेल नै बसिरहेको समेत ती टेलिभिजन प्रस्तोताले जानकारी दिएका छन् ।

एपीवान टेलिभिजनबाट प्रशारित हुने ‘द प्रकाश सुवेदी’ शो कार्यक्रमका भाइरल प्रस्तोता प्रकाश सुवेदीले सहकारी ठगीको अभियोगमा पक्राउ परेका लामिछानेलाई कारागारमा चलान गरिदिएका हुन् ।
आईतबार रजतपट अनलाईन टिभि नामक युट्युब च्यानलमा अप्लोड गरिएको अभिनेता दिपकराज गिरीसँगको कुराकानीका क्रममा उनले हिरासतमा रहेका लामिछानेलाई कारागार चलान गरिदिएका हुन् ।

‘प्रकाश सुवेदी सो’ नामक कार्यक्रमको ३० मिनेट ३२ सकेण्डमा उनले रविको फोटो देखाउँदै अभिनेता गिरिसँग ‘यो फोटो एकदम ताजा फोटो हो, जेल जानु अघि आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै गरेको फोटो हो यो,’ भनेका छन् । र ३० मिनेट ४० सेकेण्डमा ‘यतिखेर पोखरा कारागारमा हुनुहुन्छ ।’ भन्दै गिरीलाई सम्झाइ रहेका छन् ।

तर आफूलाई ‘सेलिब्रेटी पत्रकार’ ठान्ने सुवेदीलाई कारागार र हिरासतबीचको फरक समेत थाहा पाएका रहेनछन् । सुवेदी आम दर्शकलाई मिसलिड गर्दै हिरासतमै रहेका लामिछानेलाई कारागार पुर्याउन उद्दत देखिन्थे । यसले सुवेदीको बुझाई झल्काउँछ ।

सुवेदीको कार्यक्रम हेर्ने आम पाठकले लामिछाने कारागार चलान भइसकेको पत्याउनुपर्ने हुन्छ । किनकी सुवेदीले आफूलाई समाजको सबैभन्दा चर्चित सेलिबेटीको रुपमा बताउने गरेका छन् । यस्ता कार्यक्रम धेरै हेरिने गर्दछ । यस्तै कार्यक्रमबाट भ्रम समेत सिर्जना हुने गरेको छ । विषयप्रतिको अर्धज्ञान राखेर संचालित यस्ता कार्यक्रमबाट दर्शकहरु ठूलो भ्रममा पर्ने र गलत धारणा बनाउने गरेका छन् ।
गलत सुचना फैल्याइरहेका यस्ता व्यक्तिमाथि प्रेस काउन्सिल नेपालले कुनै कारबाही गरेको सुनिएको छैन ।

सिफारिस