
काठमाडाैं । सहकारीको रकम अपचलनमा पक्राउ पर्नेमध्ये धेरैजसो राजनीतिक पहुँच भएका व्यक्तिहरु नै छन् । निरन्तर सत्तामा रहँदै आएका नेकपा एमाले र नेपाली कांग्रेसलगायत राजनीतिक दलको पृष्ठभूमीका नै छन् । सहकारी प्रकरणमा अहिलेसम्म पक्राउ परेका अधिकांश आरोपितहरु पुर्पक्षका लागि कारागारमा छन् ।
यस्तोमा आफूलाईसमेत कारागार चलान गराएरै छाड्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई डर पसेको छ । यहि डरकै कारण आफू रिहा नहुन्जेलसम्म सडक नछाड्न आफ्ना कार्यकर्तालाई लामिछानेको उर्दी छ । उसो भए पक्राउ परेर अहिलेसम्म को–को कारागार चलान भए त ?
इच्छाराज तामाङ
नेकपा एमालेका पूर्वसांसद इच्छाराज तामाङ अहिले डिल्लिबजार कारागारमा रहेका छन् । सहकारी मात्रै नभई सिभिल बैंकसमेत संचालन गरेका उनले सिभिल सहकारीको करिब ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सम्पत्ति शुद्धीकरणमा समेत दोषी ठहर भएका उनी अदालतले तोकेको सजाय भुक्तान गरिरहेका छन् । तामाङले आकर्षक ब्याजको प्रलोभनमा सहकारीमा पैसा जम्मा गर्न लगाई सहकारीको नियम विपरीत कर्जा आफ्नै विभिन्न कम्पनीको नाममा प्रवाह गरेका थिए ।

ती कम्पनीबाट भएको आम्दानी लुकाएर सहकारीको कर्जा नतिरेपछि संस्था समस्यामा परेको थियो । यतिसम्म कि उनले आम्दानी लुकाएर सहकारीको रकम हिनामिना गर्न आफ्नी श्रीमतीसँग नक्कली डिभोर्स गरेको आरोपसमेत लाग्ने गरेको छ ।
सीबी लामा
२०७० को निर्वाचनमा कांग्रेसबाट काभ्रेमा उम्मेदवार बनेका सीबी लामा अहिले केन्द्रीय कारागार सुन्धारामा रहेका छन् । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर अर्थात सीबी लामा केही समयअघि मात्रे जेल चलान भएका हुन् । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै केन्द्रीय कारागार सुन्धारा पठाइएको हो । कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र पशुपति सेभिङ एन्ड क्रेडिटका बचतकर्ताको करिब ८ अर्ब रकम अपचलन गरेको सीबीमाथि आरोप छ ।

सीबीलाई १८ जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको थियो । सहकारीको रकम अपचलन गरी व्यक्तिगत घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको आरोप उनीमाथि छ । कान्तिपुर सहकारीमा सीबी २४ वर्षसम्म अध्यक्ष थिए । उनले काभ्रेको धुलिखेल, पनौती, भक्तपुरको साँगा, काठमाडौंको फर्पिङ, मकवानपुरको चित्लाङ, मोरङकानेपोखरी, खोटाङ हलेसीलगायत स्थानमा ४ सय रोपनीभन्दा बढी जग्गा किनिएको विवरण सहकारी विभागमा बुझाइएको छ । सहकारी विभागमा पेस गरेकै विवरणमा ३२ स्थानमा घरजग्गा छ ।
देवकुमार नेपाली
सहकारी ठगीकै आरोपमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पनि पुर्पक्षका लागि कारागारमा रहेका छन् । एमालेबाट दुई पटक मेयरमा निर्वाचित उनी इमेल सहकारीको बचत डुबाएर २०८० सालको जेठदेखि फरार थिए । ०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो ।

नेपाल प्रहरीको अनुरोधमा भारतीय प्रहरीले उनलाई नयाँदिल्लीबाट समातेको थियो । बागलुङ र पोखरामा इमेज सहकारी खोलेर उनको समूहले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ । नेपालीसहित ११ जनाविरुद्ध २०८० असार २५ मा सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
केबी उप्रेती
एमाले सहकारी तथा गरिबी निवारण विभागका सचिव कृष्णप्रसाद अर्थात केबी उप्रृती पनि अहिले डिल्लिबजार कारागारमा रहेका छन् । बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ हिनामिना गरेका आरोप लागेका उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । गत असार १९ गते पक्राउ परेका आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका संस्थाका अध्यक्ष उप्रेतीविरुद्ध चारवटा छुट्टाछुट्टै मुद्दा दायर भएका छन् । पाँचवटा सहकारी मर्ज भएर गत वर्ष सो संस्था बनेकोमा उप्रेतीलाई अध्यक्ष बनाइएको थियो ।

उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, कुयाङ लामा अध्यक्ष रहेको आइडियल यमुना सहकारी, सुकेधारा, हस्त राउत अध्यक्ष रहेको नागरिक कल्याण बहुउदेश्यीय सहकारी, न्युरोड, मनोजकुमार थापा अध्यक्ष रहेको हाम्रो बहुउद्देश्यीय सहकारी संस्था नैकाप र मोहनकुमार लामा अध्यक्ष रहेको घेदुङ बहुउद्देश्यीय सहकारी संस्था, चुच्चेपाटीबीच मर्ज भएको थियो । सबै सहकारीको छुट्टाछुट्टै जाहेरी लिएर प्रहरीले मुद्दा दायर गरेको थियो । राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका उप्रेती एमालेको सहकारी विभागमा सचिव थिए ।
कैलाश दर्लामी
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कैलाशकुमार दर्लामीसमेत अहिले कारागारमा रहेका छन । दर्लामी नेकपा माओवादी केन्द्रको लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षसमेत हुन् । जीबी राई अध्यक्ष रहेको पोखराको सूर्यदर्शन सहकारी संस्थाको ठगी मुद्दामा उनी अहिले कास्की कारागारमा रहेका छन् । दर्लामीलाई गएको पुस १२ गते पक्राउ गरेर पोखर पुर्याइएको थियो । दर्लामीसँगै सहकारीको रकम ठगी गरेको आरोप लागेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पनि कास्की कारागारमै छन् । दर्लामीलाई कास्की जिल्ला अदालतले असोज २१ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उनीहरुसँगै सहकारी प्रकरणमा समातिएका अधिकांश पुर्पक्षका लागि जेल चलान भएका छन् भने जीबी राईसहितका पक्राउ पुर्जी जारी भएका थुप्रै आरोपितहरु भागिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छबिलाल जोशीलगायत व्यक्तिहरु कास्की प्रहरीको हिरासतमा रहेका छन् । यसअघि पक्राउ परेकाहरु अधिकांश पुर्पक्षका लागि कारागार चलान भएकोले रवि लामिछाने र छबिलाल जोशीहरुलाई पनि पुर्पक्षका लागि कारागार पठाउने सम्भावना बलियो देखिन्छ ।