काठमाडौं । मुगुको सोरु गाउँपालिका १ का ४६ वर्षका दान बहादुर विक आईतबार साँझ तीनतले घरबाट खसेर गम्भीर घाइते भए । उनलाई उनका आफन्तले तत्कालै राति ११ बजेतिर जिल्ला अस्पताल मुगु पुर्याए ।
जिल्ला अस्पतालमा स्वास्थ्य जाँचका क्रममा उनको छातिको करङ र जोर्नीका हड्डीसमेत भाँचिएको भेटियो । दानबहादुरको जिल्ला अस्पतालमा उपचार असम्भव भयो । छिमेकी जिल्लाका अस्पतालमा पनि उनको उपचार सम्भव देखिएन । तत्कालै मुगु जिल्ला अस्पतालले उनलाई नेपालगञ्ज रिफर गरिदियो ।
जिल्ला अस्पतालको रिफर अनुसार दानबहादुरका आफन्तले उनलाई नेपालगञ्ज लैजान हतारमा रारा विमानस्थल ताल्चा पुर्याए । सोमबार विहानैदेखि उनीहरु विमानस्थलमा नेपाल एअरलाईन्सको जहाज कुरेर बसिरहे । विहान ७ बजे जहाज विमानस्थलमा अवतरण पनि भयो, तर दानबहादुरले विमान चढ्न पाएनन् ।
बिरामी दानबहादुरलाई विमानस्थलको धावनमार्गमै अलपत्र छाडेर वन तथा बाताबरण मन्त्री ऐन बहादुर शाहीसहितको भीआईपी टोलीलाई बोकेर विमान ताल्चाबाट उड्यो । शनिबार जलवायू परिर्वतन कार्यक्रमका लागि मुगु पुगेका वनमन्त्री शाहीसहितको भीआईपी टोलीले सिकिस्त बिरामीलाई विमानस्थलको धावन मार्गमै अलपत्र छाडेर नेपाल वायुसेवा निगमको जहाजमा नेपालगञ्ज उडेको हो ।
नेपाल एअरलाईन्सले मन्त्रीसहितको भीआईपी टोलीलाई बोकेर उडेपछि गम्भीर बिरामी दानबहादुर र उनका आफन्त दिउँसो १ बजेसम्म विमानस्थलमै रोकिए । पछि हारगुहार गरेर तारा एअरलाईन्सको जहाजमार्फत बिरामी दानबहादुरलाई नेपालगञ्ज पुर्याईयो ।
कर्णालीका दुर्गम जिल्लामा हवाई उडान प्रायः कम हुन्छन् । त्यहाँका नागरिक सहजै हवाई सेवाको पहुँचमा छैनन् । दानबहादुरको स्वास्थ्य अवस्था झनझन गाह्रो हुँदा आफन्तले वन मन्त्री शाहीलाई समेत सहयोगको याचना गरेका थिए । तर मन्त्री शाहीले वास्ता गरेननन् ।
मन्त्रीसहितका भीआईपी टोली सहजै उडेको तर बिरामीलाई जहाजको टिकट नदिएर आफूहरुलाई अन्याय गरेको दानबहादुरका कान्छो छोरा उज्वल बिकको भनाइ छ । उनले दियोपोस्टसँग भने, ‘बिरामी बुवालाई बिहान ६ बजेदेखि नै ताल्चा विमानस्थलमा जहाज कुरेर बस्यौँ । जहाज आएपनि नेता र भीआईपीले गर्दा उहाँले टिकट पाउनुभएन ।’
‘जिल्ला अस्पतालले रिफर गरेको बिरामीले सहजै सिट पाउनु पर्ने हो तर मन्त्रीसहितका भीआईपी टोलीका अगाडि हाम्रो केही लागेन’ उनी भन्छन्, ‘बिरामी बुवाको ज्यान गुमाउने अवस्थामा हुँदा पनि दिउँसोसम्म विमानस्थलको धावन मार्गमा राख्यौँ, दिउँसो १ बजेपछि तारा एअरको जहाज आयो त्यसमा पनि हारगुहार गरेपछि बल्ल सिट मिल्यो ।’
वन तथा बाताबरण मन्त्री शाही मुगुबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । मन्त्री शाही र बिरामी दानबहादुर एउटै पालिकाका एउटै वडाबासीसमेत हुन् । मन्त्री शाही आफनै गाउँघरको भएर बिरामीको उद्धारका लागि अपिल गरेपनि उल्टै पीडा दिने काम गरेको दान बहादुरका आफन्तको गुनासो छ ।
‘हामीले बिरामीको अवस्था मन्त्री ज्यूलाई जानकारी गराएका थियौँ । आफ्नै वडाबासीका हिसाबले पनि उहाँले हामीलाई सहजीकरण गरिदिनुहुन्छ कि भनेर भन्यौं तर उहाँले सहजीकरण गर्दैछौँ भनेर भन्नुभयो तर केही पनि गर्नुभएन’ विरामीका आफन्तहरु भन्छन्, ‘उद्धारको झिनो आश्वासन देखाएर मन्त्री शाही भीआईपी टोली लिएर नेपालगञ्ज उडेर जानुभयो ।’
यसबारे मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले भने अनविज्ञपता प्रकटा गरेका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डे भन्छन्, ‘म जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आएको एक महिना मात्र भयो । बिगतमा यस्ता खालका समस्याहरु रहेछन् अबका दिनमा यस्तो समस्या नदोहोयाउन सम्बन्धित निकायमा पहल गर्छु ।’
मुगु बासीका लागि सडक पछि एकमात्र विकल्प भनेकै हवाई यात्रा हो । जिल्लामा सामान्य खालका बिरामीलाई पनि जिल्ला बाहिर रिफर गर्नुपरे बाध्यता छ । सुर्खेत, नेपालगञ्जलगायत सहरमा पुग्न ३ दिनसम्म सडक यात्रा गर्नुपर्ने अवस्था छ । यहि कारण कतिपय बिरामीको बाटोमै ज्यान जाने गरेको छ । सामान्य नागरिकले जहाजको पर्खाईमा विमानस्थलमै ज्यान गुमाउनुपरेको घटनाहरुसमेत छन् ।
याे भिडियाे पनि हेन्नुहाेस्