माओवादी केन्द्रको लापरवाही : अर्काकी श्रीमती भगाउनेलाई संरक्षण, श्रमिकमाथि चरम ज्यादती !

दियोपोस्ट संवाददाता  

 

काठमाडौं । नेकपा माओवादी केन्द्र भन्ने पार्टी श्रमिक र मजदुरहरुले निर्माण गरेको गरेको हो भन्दा अन्यथा नहोला । किनकी मजदुर र लालझूपडीका मान्छेहरुको मुद्दा उठाएर नै माओवादी समाजमा स्थापित भएको हो । मुद्दा छोड्दै गएपछि माओवादीलाई पनि मजदुर, किसान र गरिबीका रेखामूनी रहेकाहरुले विर्सदै गए । अहिले माओवादी केन्द्रमा आबद्ध भएका केही नेता कार्यकर्ता त्यस्तै श्रमिक र मजदुरमाथि अन्याय र अत्याचार गर्न आफै उत्रन थालेका छन् । हिजो श्रमिक र मजदुरहरुले निर्माण गरेका पार्टीका केही नेताहरु नै अहिले उनीहरुको वर्गबैरी बन्न पुगेको घटनाका पीडित पात्र हुन्–सिन्धुलीका भीम बहादुर मोक्तान ।

भीमबहादुर मोक्तानको पीडासँगै अन्य श्रमिकहरूको अनुभवले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र यस वरपर निराशा र आक्रोशको वातावरण सिर्जना गरेको छ । भीमबहादुर, जो दशैंको अवसरमा घर फर्किएका थिए, माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्षले नै उनकी श्रीमतीलाई ‘उडाइदिएको’ र विदेशबाट कमाएर पठाएको हिनामिना गरेको घटनामा माओवादी केन्द्रबाट न्याय नपाउने भनेपछि उनी थप निराश बनेका छन् । उनको पक्षमा बोल्ने स्थानीय जनताले भनेका थिए, ‘पहाडसँग कुहिनो जुदाउँदा आफैलाई क्षति हुन्छ, तैले सक्तैनस्, हिजोको भुइँमान्छेको माओवादी अहिले महल, पैसावालाई हेर्ने गरी फेरिइसकेको छ ।’

भीमबहादुर मोक्तान आफैं माओवादीको पक्षमा दृढतापूर्वक उभिए पनि अहिले आफूलाई पर्दा पार्टीले न्याय नगरेको अनुभव गरिरहेका छन् । उनले भने, “मैले मेरो अधिकारको लागि आवाज उठाएकोमा मलाई कुटियो । मलाई घरवारविहीन बनाउन खोजियो । अरबको आगोसँग खेलेर कमाएकोे पैसा लगियो ।” काठमाडौंमा १० महिनादेखि गलैंचा उद्योगमा काम गरिरहेका मोक्तानले आफ्नो छोरीलाई पनि त्यहीँ ल्याएर पढाइरहेका छन् ।

बागमती प्रदेशले गठन गरेको छानविन समितिले सात महिना बितिसक्दा पनि कुनै ठोस कदम उठाएको छैन । यो समिति ईश्वरी भट्टराईको नेतृत्वमा गठन गरिएको हो, तर अध्यक्ष बज्रध्वज वाइबासँग बयान लिन पनि सफल भएको छैन । दुबै पटक प्रयास गर्दा पनि उनले भेट्न नमानेको निरिहता प्रकट गर्दै भट्टराईले आफूले छिट्टै प्रतिवेदन दिने बताए ।
छानविन समितिलाई २५ दिनको म्याद दिएर वैशाखबाट काम सुरु गरे पनि यस अवधिमा कुनै निष्कर्षमा पुग्न सकेको छैन । भट्टराईका अनुसार आफ्नो स्वास्थ्य समस्याका कारण पनि केही ढिलाइ भएको हो । आफूहरु हरिहरपुरगढीमा दुई पटक पुग्दा बज्रध्वजले भेट्नै नमानेको पनि जानकारी दिए ।

हालै गाउँमा पुगेर काठमाडौं फर्किएका भीम मोक्तानका अनुसार बज्रध्वजले माओवादी केन्द्रमा पुष्पकमल दाहाल, नारायण दाहाल, राजन दाहाल, सरल सहयात्री र माधव सापकोटा बाहेक अरुलाई नेतै नमान्ने बताएको र उनले यी नेताहरुले नभनेसम्म ईश्वरी भट्टराईलाई बयान नदिने भनेको गाउँमा चर्चा गर्छन । यी पाँच जना बाहेक अरुलाई माओवादीमा बज्रध्वजले नेता नमान्ने बताउँदै हिंडेको भीम मोक्तानको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुनु पहिले एमाले रहेका बज्रध्वज वाइबा नेकपा फुटेपछि माओवादी केन्द्रमा लागेका थिए । आर्थिक र साँस्कृतिक कमजोरीका कारण एमालेले उनलाई पार्टीमा किनारा लगाउँदै गएपछि उनले माओवादी केन्द्रका केही नेतालाई प्रभावमा पारेर गाउँपालिकाको टिकट उछिट्याएको एमालेका जिल्ला नेताहरु बताउँछन् । उनीभन्दा माओवादी केन्द्रमा स्थापित र इमान्दार नेताहरु धेरै हुँदाहुँदै उम्मेदवार भएकोमा माओवादी केन्द्रमा समेत विवाद भएको थियो ।

बज्रध्वज वाइबाले राजनीतिक नेता र कार्यकर्ताहरुलाई पैसाले कन्ट्रोल गन्ने मान्यता राख्छन् । केही महिनाअघि बागमती प्रेस सेण्टरको बैठकमा संगठनलाई मागेको पैसा दिने भन्दै बोलेकोमा आलोचना भोगेका थिए । स्थानीय जनताले उनलाई माओवादीका लागि घातक मानिरहेका छन् र यसले पार्टीको छवि कमजोर बनाउँदैछ । मोक्तानले भने, “यदि यसरी नै अन्याय हुन्छ भने म पार्टीको केन्द्रीय कार्यालय पेसिडाँडामा छिट्टै अनसन बस्ने तयारी गर्दैछु ।”

भीमबहादुरको घटनाले माओवादी केन्द्रको प्राथमिकता र प्रतिबद्धताप्रति गम्भीर प्रश्न उठाएको छ । श्रमिक वर्गका लागि लडेको माओवादी पार्टी आजका दिनमा बज्रध्वज जस्ता व्यक्तिहरूको प्रभावमा परेर अन्यायको पक्षमा खडा भएको छ । यस घटनाले श्रमिकहरूको स्थिति र माओवादी केन्द्रको राजनीति बीचको जटिलतालाई उजागर गर्दै नयाँ बहसको सुरुवात गरेको छ ।

TATA ADD