वनमन्त्रीको झुट लुकाउन सचिवालयको ‘भ्रामक’ विज्ञप्ति !

दियोपोस्ट संवाददाता  

काठमाडौं । केही दिन अघि मात्र वनमन्त्री ऐनबहादुर शाहीले बिरामीको सिट ओगटेर हवाई यात्रा गरेको विषयमा दियो पोष्टले समाचार प्रकाशित गरेको थियो ।
समाचार प्रकाशनलगत्तै वनमन्त्री शाहीको नीजि सचिवालयबाट पीडितलाईसमेत किन समाचार दिएको भनेर धम्क्याउने प्रयास भयो । समाचार प्रकाशित गर्ने दियोपोष्टका संवाददाता कमल विकलाईसमेत विभिन्न व्यक्तिमार्फत धम्की आयो ।

सचिवालयको दबावपछि पनि वनमन्त्री शाहीबारेको समाचार भने रोकिएन । प्रकाशित समाचारले अप्ठ्यारो पर्ने भएसँगै वनमन्त्री शाहीको झुट लुकाउन सचिवालयले भ्रामक विज्ञप्ति प्रकाशित गरेको छ । जुन विज्ञप्तिमा मन्त्री शाहीको सचिवालयले आफूलाई साँचो सावित गराउन अप्रमाणित विषय समावेश गरेको छ ।
यस्तो छ मन्त्री शाहीको सचिवालयले निकालेको प्रेस विज्ञप्ति 

कार्तिक ४ गते आइतबार मुगुको सोरु गाउँपालिका १ का दानबहादुर विकको ३ तलाबाट लडेर गम्भीर घाइते भएका थिए । उनको छातिको करङ र हड्डी भाँचिएकोले मुगुमा उपचार सम्भव नभपछि जिल्ला अस्पताल मुगुले नेपालगञ्ज रिफर गरिदियो । उपचारका लागि नेपालगञ्ज जान भोलिपल्ट सोमबार सबेरै ताल्चा विमानस्थल पुगे ।
तर उनीहरुले नेपाल एअरलाईन्सको जहाजको टिकट पाउन सकेनन् । कारण थियो वनमन्त्री शाहीको सवारी । बनमन्त्री शाहीको जम्बो भीआईपी टोलीले जहाजको सिट ओगटेपछि गम्भीर बिरामी दानबहादुर दिउँसोसम्म नै विमानस्थलमा छटपटाइरहे । यहि विषयमा दियोपोस्टले समाचार प्रकाशित गरेको थियो ।
समाचार प्रकाशित भएसँगै मन्त्री शाहीको सचिवालयले आफूहरुलाईसमेत फोन गरेर धम्की दिइरहेको बिरामी दानबहादुरका छोरा उब्जनको भनाई छ
उब्जनलाई मन्त्री शाहीको सचिवालयको धम्की छ, ‘तिमीले किन समाचार दियौ ? यसरी समाचार दिएर केही हँुदैन । हामी एकै गाउँका मान्छे । तिमीलाई काम लाग्ने त हामी हौँ । समाचार दिएर तिमीले के पायौ ? भोली हाम्रो पनि पालो आउला ।’
विज्ञप्तीमा मन्त्री शाहीको सचिवालयले राजनितिक प्रतिशोधले प्रेरित भएर विरुद्धमा समाचार प्रकाशित भएको आरोप लगाएको छ । घटना एउटा भएपनि सचिवालयमार्फत मन्त्री शाहीले राजनीतिक प्रतिशोधमा लगेर जोडेका छन् ।
यस्तै विज्ञप्तिमार्फत मन्त्री शाहीले बिरामीका लागि तारा एअरलाईन्सको अर्को जहाजमा टिकटको व्यवस्थापन गर्न आफूले सहजिकरण गरिदिएको दाबी गरेका छन् । जबकी तारा एअरलाईन्सको टिकट व्यवस्थापन गर्दै आईरहेको हिमाली टुर्स एण्ड ट्राभल्सले भने आफूहरुसँग बिरामीको टिकटबारे कसैले पनि समन्वय नगरेको स्पष्ट गरेको छ ।
वनमन्त्री शाहीले सरकारी कागज र कलमको दुरुपयोग गर्दै गल्ती ढाकछोपको प्रयास गरेको आरोप लागेको छ । प्राप्त अधिकारको दुरुपयोग गरेर गल्ती लुकाउने प्रयास गर्दा पीडित झनै पीडामा परेको देखिन्छ । एक गल्ती लुकाउन अर्को गल्तीको सहारा लिन खोज्दा उनको नियतमाथि नै प्रश्न उठेको देखिन्छ ।

सिफारिस