काठमाडौं । आन्दोलनरत नर्सहरूले अपमानजनक व्यवहार गरेको भन्दै निजी अस्पतालका छाता संगठनहरूले आपत्ति जनाएका छन् । ‘एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल’ (अफिन) र ‘एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल’ले एक संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
ति संगठनले नर्सहरूको तलब स्केल सम्बन्धी विषयमा स्वास्थ्य मन्त्रालयमा बसेको कार्यदलको बैठकका क्रममा आन्दोलनरत पक्षबाट देखाइएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका हुन्।
अफिनका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिं कार्की र मेडिकल एन्ड डेन्टल कलेज संघका वरिष्ठ उपाध्यक्षद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘बार्ताका क्रममा प्रयोग गरिएका अपमानजनक शब्दहरू, अनुचित व्यवहार र ‘माफिया’ लेखिएका प्लेकार्डहरूले संवादको वातावरण बिगारेका छन् र आपसी विश्वासमा आघात पुगेको छ।’
दुवै संघहरूले निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सधैं संवाद, सहकार्य र आपसी सम्मानका आधारमा समस्या समाधान गर्न प्रतिबद्ध रहेको जनाउँदै, देशभरका नर्सिङ पेशाकर्मीहरूको योगदानको उच्च सम्मान गरिएको स्पष्ट पारेका छन्।
‘नर्सहरूले उठाएका मागहरूका विषयमा हामी सकारात्मक छौं । तर बार्ताका क्रममा भएको अपमानजनक व्यवहारका कारण हामी कक्षबाट बाहिरिन बाध्य भयौं, ‘ विज्ञप्तिमा भनिएको छ ।
संघहरूले यस्तो परिस्थितिको जिम्मेवारी राज्य पक्षकै कमजोरी र असन्तुलित व्यवस्थापनमा रहेको टिप्पणी गर्दै सरकारले समयमै दिगो नीति, समान व्यवहार र स्पष्ट कार्यविधि नल्याएकै कारण अप्रिय अवस्था सिर्जना भएको बताएका छन्।
विज्ञप्तिमा थप भनिएको छ, ‘निजी अस्पतालहरू देशभरका बिरामीलाई निरन्तर सेवा दिइरहेका छन् र आगामी दिनमा पनि स्वास्थ्यकर्मी तथा सरकारसँग सहकार्यका माध्यमबाट न्यायोचित समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्दछौं। तर भविष्यमा यस्ता अपमानजनक व्यवहार दोहोरिएमा हामी आफ्ना सदस्य संस्थाहरूको प्रतिष्ठा र स्वाभिमान जोगाउन आवश्यक कदम चाल्न बाध्य हुनेछौं।’
