लुम्बिनी विकास बैंक विवादमा, करोडभन्दा बढी मूल्यको घरजग्गा ५३ लाखमा लिलामी गरेपछि बैंकविरुद्ध धर्ना

दियोपोस्ट संवाददाता

बुटवल । करोडौं रुपैयाँ मूल्य पर्ने घरजग्गा बैंकले आफ्नै मूल्यांकनभन्दा समेत निकै कम मूल्यमा लिलाम बिक्री गरेको भन्दै बुटवलका एक परिवारले लुम्बिनी विकास बैंकविरुद्ध विरोध जनाएका छन् ।

बुटवल उपमहानगरपालिका-९ मिलनचोकस्थित तीनतले पक्की घरसहितको जग्गा ५३ लाख रुपैयाँमा लिलाम बिक्री गरिएको भन्दै पौडेल परिवारले सोमबार बुटवल–११ देवीनगरस्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालयअगाडि धर्ना दिएका हुन् ।

परिवारका अनुसार उक्त सम्पत्तिको वास्तविक बजार मूल्य करोडभन्दा बढी छ । बैंककै मूल्यांकनमा समेत उक्त सम्पत्तिको मूल्य ८१ लाख ९१ हजार रुपैयाँ कायम गरिएको दाबी उनीहरूको छ । तर, सोही सम्पत्ति ५३ लाख रुपैयाँमा लिलाम गरिएको भन्दै परिवारले लिलामी प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाएको हो ।

लिलाम गरिएको सम्पत्ति लक्ष्मी विष्ट पौडेलको नाममा रहेको बुटवल–९ मिलनचोकस्थित कित्ता नम्बर १९१ को ५९ दशमलव ०४ वर्गमिटर जग्गा र त्यसमा बनेको तीनतले पक्की घर हो । पौडेल परिवारका अनुसार उक्त सम्पत्ति धितो राखेर २०७७ पुस १ गते लुम्बिनी विकास बैंकको बुटवल शाखाबाट ४८ लाख रुपैयाँ कर्जा लिइएको थियो ।

व्यवसायमा आएको मन्दी र कोभिड–१९ को प्रभावका कारण नियमित किस्ता तिर्न केही समस्या आएको परिवारको भनाइ छ । तर, बैंकसँग समन्वय गरेर ऋण चुक्ता गर्ने प्रयास भइरहेको अवस्थामा आफूहरूलाई पर्याप्त जानकारी नदिई सम्पत्ति लिलाम गरिएको उनीहरूको आरोप छ ।

दुर्गा पौडेलका अनुसार बैंकका तत्कालीन शाखा प्रमुख चन्द्रबहादुर सारूसँग घरजग्गा बिक्री गरेर ऋण चुक्ता गर्ने विषयमा छलफलसमेत भएको थियो । घरजग्गा बिक्रीका लागि बैना गरिसकेको अवस्थामा समेत आफूहरूलाई जानकारी नदिई बैंकले गोप्य रूपमा लिलामी प्रक्रिया अघि बढाएको उनको दाबी छ ।

परिवारले बैंकले असुल गर्नुपर्ने साँवा, ब्याज तथा हर्जानासहितको रकम करिब ५८ लाख ३९ हजार रुपैयाँभन्दा बढी रहेको अवस्थामा समेत सम्पत्ति ५३ लाख रुपैयाँमै बिक्री गरिएको दाबी गरेको छ ।

यदि परिवारको दाबीअनुसार बैंकको बक्यौता रकम लिलामी मूल्यभन्दा बढी थियो भने ऋण असुलीका लागि गरिएको भनिएको लिलामीबाट बैंकले आफ्नो सम्पूर्ण रकमसमेत असुल गर्न नसकेको देखिन्छ । यही तथ्यले लिलामी मूल्य निर्धारणको आधार र प्रक्रियामाथि थप प्रश्न उठाएको परिवारको भनाइ छ ।

परिवारले बैंकका कर्मचारी र घरजग्गा कारोबारीबीच मिलेमतो भएको आशंकासमेत गरेका छन् । विशेषगरी बैंकको मूल्यांकन र लिलामी मूल्यबीच देखिएको ठूलो अन्तरले कर्मचारीको भूमिकामाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ ।

बैंक भन्छ-पटकपटक सूचना दिँदा पनि सम्पर्कमा आएनन्

बैंकका बुटवल शाखा प्रमुख चन्द्रबहादुर सारूले भने ऋणीलाई पटक-पटक जानकारी गराउँदा पनि सम्पर्कमा नआएपछि प्रचलित नियमअनुसार लिलामी प्रक्रिया अघि बढाइएको दाबी गरेका छन् ।

उनका अनुसार ऋणीलाई लिखित, मौखिक, फोन तथा मेसेजमार्फत पटक-पटक जानकारी गराइएको थियो । ‘लिखित, मौखिक, फोनबाट, मेसेजबाट धेरैपटक सूचना गरेको हो । तर उहाँहरू सम्पर्कमा नआएपछि नियमअनुसार लिलाम बिक्री गरिएको हो,’ सारूले भने ।

उनले लिलामी प्रक्रिया सम्बन्धित नियामक तथा कानुनी व्यवस्थाअनुसार नै भएको दाबी गरे । तर, परिवारले भने आफूहरू बैंकसँग सम्पर्क र समन्वयमै रहेको तथा ऋण चुक्ता गर्ने प्रयास गरिरहेको अवस्थामा लिलामी गरिएको दाबी गरेको छ ।

बैंकले धितोको मूल्यांकन कसरी गर्‍यो ? ८१ लाख ९१ हजार रुपैयाँ मूल्यांकन गरिएको भनिएको सम्पत्ति ५३ लाखमै कसरी बिक्री भयो ? लिलामी मूल्य निर्धारणको आधार के थियो रु ऋणीलाई सूचना वास्तवमै पर्याप्त रूपमा दिइएको थियो कि थिएन ?

अर्को महत्वपूर्ण प्रश्न बैंकको बक्यौता रकमसँग जोडिएको छ । यदि साँवा, ब्याज र हर्जानासहित बैंकको दाबी ५८ लाख रुपैयाँभन्दा बढी थियो भने ५३ लाख रुपैयाँमा सम्पत्ति बिक्री गर्दा बैंकले आफ्नो सम्पूर्ण रकम कसरी असुल गर्‍यो भन्ने प्रश्न उठेको छ ।

त्यसैले पौडेल परिवारले लिलामी प्रक्रिया पुनरावलोकन गरी सम्पत्तिको वास्तविक मूल्यांकन, लिलामी मूल्य निर्धारणको आधार, सूचना प्रवाह र सम्पत्ति हस्तान्तरण प्रक्रियाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

सम्बन्धित खबर

सिफारिस