
काठमाडौँ । प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जनालाई बिहीबार (असोज २२) बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका-७ घर भई हाल काठमाडौँको कपन बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका-१ घर भई कपन बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन् ।
प्रहरीका अनुसार दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई लक्षित गरी अश्लील तथा अपशब्द प्रयोग गर्दै गालीगलौज र धम्की दिएका थिए । सोही क्रममा घिमिरेको निर्देशनमा विद्यालयका प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले घटनास्थलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।