
काठमाडौँ । नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७-२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ।निर्वाचनमा नेपालले १७३ मत प्राप्त गर्दै एसिया-प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये सर्वाधिक मत हासिल गरेर निर्वाचित भएको हो ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले कुल १८० मतमध्ये १७३ मत प्राप्त गरेको हो । निर्वाचनपछि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले वक्तव्य जारी गर्दै नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ ।
बहुपक्षीयता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेको नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीप्रतिको नेपालको प्रतिबद्धतामा विश्वास व्यक्त गरेकामा नियोगले सबै सदस्य राष्ट्रलाई धन्यवाद दिएको छ ।
त्यसैगरी, नियोगले परिषद्को सन् २०२७-२०२९ कार्यकालका लागि निर्वाचित अन्य राष्ट्रहरूलाई पनि बधाई दिएको छ । उक्त कार्यकालका लागि ब्राजिल, बुरुन्डी, डोमिनिकन गणतन्त्र, जर्मनी, घाना, आयरल्यान्ड, जापान, जोर्डन, कुवेत, माल्दोभा, नाइजेरिया, युक्रेन, उरुग्वे र जाम्बिया निर्वाचित भएका छन् ।
नेपालले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र तथा अन्य साझेदारसँग नजिकबाट सहकार्य गर्दै मानव मर्यादाको संरक्षण, समावेशिताको प्रवर्द्धन, सामाजिक न्याय तथा सबैका लागि समान र न्यायोचित विकासलाई अघि बढाउन प्रतिबद्ध रहेको नियोगले जनाएको छ ।