देउवालाई सुजाताको झट्का, सिटौला र प्रकाशमानसँग गोप्य भेटघाट !

दियो पोस्ट  

काठमाडौं, १३ कात्तिक । १३ औं महाधिवेशनबाट आफूहरुको विरासत शेरबहादुर देउवाले पहिलोचोटी खोसेपछि कोइराला परिवार त्यसलाई फर्काउन लागिपरेको छ । कोइराला परिवारका डा. शशांक, डा. शेखरले तीनचारपटकभन्दा आपसमा छलफल गरी अब अन्य नेतासँग मिलेर देउवालाई एक्ल्याउने तयारीस्वरुप छलफल गर्दै आएका छन् । यस अघि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई भेट गरेकी गिरिजापुत्री सुजाताले मंगलबार गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहसँग भेट गरेकी छिन् । मण्डिखाटारस्थित आफ्नै निवासमा भएको भेटमा १४ औं महाधिवेशनबाट जसरी हुन्छ देउवालाई हराएरै छाड्नेमा समझदारीमा भएको हो ।

‘अब १४ औं महाधिवेशनबाट जसरी हुन्छ देउवालाई परास्त गरिछाड्नेमा नेताहरुबीच कुराकानी भएको छ’ छलफल निकट स्रोतको भनाई छ, ‘यस अघि कृष्णप्रसाद सिटौलासँग भएको जस्तै छलफल आज सुजाता र प्रकाशमान सिंहबीच भएको हो ।’ देउवाले पार्टीको नेतृत्व लिएपछि एकपछि अर्को कमजोरी गरेको, निर्वाचनमा नमिठो झट्का बेहोरेको भन्दै अब पूर्व संस्थापनहरु आपसमा मिलेर नै देउवालाई चुनौती दिनेमा सहममत भएका हुन् । यस अघि पनि कोइरालाहरुले यसरी गरेको भेटघाटको फोटो आफैं सार्वजनिक गर्ने गर्थे । यसपटक पनि सुजाताले कृष्ण सिटौलापछि नेता सिंहसँग भएको भेटको फोटो मंगलबार बिहान लगत्तै सार्वजनिक गरेकी हुन् ।

नेतृत्वका लागि कोही नबोल्ने

उनीहरुबीच अहिले नै कसले नेतृत्व भन्नेमा कोही नेता पनि नबोल्ने समझदारी भएको छ । अहिले नेतृत्वमा विषयमा बोल्दा नेताहरुबीच नै विभाजन आउँने एकीकृत शक्ति पनि नदेखिने भन्दै उनीहरु अवस्था परिपक्व भएपछि मात्र नेतृत्वको विषयमा बोल्ने पक्षमा छन् । अहिले देउवाविरुद्ध को सभापतिमा लड्ने भन्नेमा घोषण गरे देउवालाई रणनीति बनाउन सहज हुने, आफ्नो पक्षका नेताहरुमा विभाजन आउँन सक्ने भन्दै पूर्व संस्थापनका नेताहरु कोही पनि अहिले नबोल्ने नीतिमा लागेका हुन् ।