काठमाडौं, १४ असोज । बलात्कारको गम्भिर आरोप लागेका सभामुख कृष्ण बहादुर महरालाई पक्राउ गर्न प्रहरीले विशेष तयारी गरेको छ । नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक डिएसपीको टोलीले सुविधानगर स्थित पीडित महिलाको घरबाट मदिरा र लत्ताकपडा बरामद गरेसँगै महरालाई कसरी पक्राउ गर्ने भन्ने परामर्शमा प्रहरी उच्च तह छलफलमा जुटेको छ ।
कानुनअनुसार अघि बढ्न प्रहरी उच्च अधिकारीलाई सोमबार नै गृहसचिव प्रेमकुमार राईले निर्देशन दिइसकेका थिए ।
नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले एक अनलाईनलाई दिएको जानकारी अनुसार प्रहरीले कानुन अनुसार अघि बढ्ने तयारी गरेको छ ।
अनुसन्धानका लागि पक्राउ गर्न अदालतको अनुमति लिनु पर्ने भएता पनि अदालत घटस्थापनाकै दिनदेखि १५ दिनसम्म बन्द भएकाले प्रहरीलाई समस्या भएको छ । यद्धपी अनुसन्धानका लागि प्रहरीले जुनसुकै बेला पक्राउ तथा धरपकड गर्न सक्नेछ ।
उच्च स्रोतका अनुसार महरालाई पक्राउ गर्ने विषयमा प्रहरी हेडक्वाटरमा उच्च तहको छलफल चलेको छ । प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरेको उच्च स्रोतले बतायो ।