काठमाडौँ, असोज २४ । चिनियाँ राष्ट्रपति सी जिनपिङसंग रात्रीभोजमा सहभागी हुने राजनीतिक दलका नेताहरुले कडा अनुशासनमा रहनुपर्ने भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले शनिबार साँझ सोल्टी होटलमा आयोजना गरेको रात्रीभोजको व्यवस्थापनको पाटो भने परराष्ट्र मन्त्रालयले सम्हालेको छ ।
भोजका लागि परराष्ट्रले सहभागीलाई निम्तोकार्ड पठाईसकेको छ । भोजमा सहभागी हुने नेपालीलाई ७ वुँदे शर्त राख्दै नियमभित्र वस्नुपर्ने शर्त पनि पहिले नै पठाईसकेको छ ।
भोजका लागि निम्ता पाएपनि सहभागी हुने नहुने पनि पहिले नै जानकारी दिनुपर्ने, मोवाइल फोन स्वीच अफ गर्नुपर्ने देखि तस्विर लिन नपाउने सम्मका शर्त परराष्ट्र मन्त्रालयले पठाएको निम्तो कार्डमै नथ्थी गरिएको छ ।
यस्ता छन् सातबुँदे शर्त
१. पुरुषको हकमा राष्ट्रिय पोशाक वा कालो डार्क सुट, सेतो सर्ट, तुना वाध्ने छालाको कालो जुत्ता र महिलाको हकमा राष्ट्रिय पोशाक सारी वा डार्क सुट अनवार्य रुपमा लगाउनु पर्ने ।
२. सिटिङ ब्याङकेट भएको हुनाले निम्ता कार्ड प्राप्त हुनासाथ सहभागी हुने वा नहुने जानकारी शीघ्र गराउनु पर्ने ।
३. सुरक्षा जाँचको कारण निम्ता कार्डमा तोकिएको समयभन्दा ४५ मिनेट अगावै भोज स्थल पुग्नुपर्ने ।
४. मोवाइल फोन स्वीच अफ गर्नुपर्ने, तस्विर खिच्न नपाइने ।
५. प्रमुख अतिथिले खाना ग्रहण गर्न शुरु गरेपछि मात्र आफुले शुरु गर्नुपर्ने ।
६. सिटिङ डिनर चलिरहेको वेला उठ्न नपाउने, र प्रमुख अतिथि हल बाहिर निस्केपछि मात्र उठ्न पाउने ।
७. पाहुनालाई प्राथमिकता दिनु पर्ने ।