गोलभेँडाले ‘शुक्रकीटको गुण बढाउन सघाउँछ’

दियो पोस्ट  

गोलभेँडामा पाइने लाइकपीन नामक पोषक तत्त्वले पुरुषमा शुक्रकीटको गुण बढाउने एउटा अनुसन्धानले देखाएको छ।

प्रत्येक दिन गोलभेँडाको दुई चम्चा गाढा लेदो (प्युरी) सेवन गर्ने स्वस्थ पुरुषमा गुणात्मक रूपमा राम्रो शुक्रकीट बनेको पाइएको छ।

सन्तान जन्माउन नसक्ने दम्पतीमध्ये आधाजसोमा पुरुषमा बाँझोपन भएको पाइन्छ।

विज्ञहरूले पुरुषमा हुने बाँझोपनको समस्याबारे थप अध्ययन हुनुपर्ने औँल्याएका छन्।

यूकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले बाँझोपनको समस्या भएका पुरुषलाई स्वस्थ जीवनशैली अवलम्बन गर्न तथा खुकुलो भित्रीलुगा लगाउन सल्लाह दिने गरेको छ।

एनएचएसले गर्भाधानको सम्भावना बढाउन यथासम्भव तनाव घटाउन तथा महिलाको अण्डोत्सर्जनको बेलामा यौन सम्पर्क गर्न सुझाव दिएको छ।

तर केही पोषक तत्त्वले पुरुषमा पुंसत्व बढाउने अवधारणा केही समययता प्रबल रूपमा देखिएको छ।

पहिलापहिला गरिएका अनुसन्धानहरू भिटामिन ई र जिङ्कको प्रभावमा केन्द्रित थिए। तिनमा जस्तै लाइकपीनमा पनि कोषलाई अक्सिजनबाट हानि पुग्न नदिने एन्टीअक्सिडन्ट गुण हुन्छ।

यो तत्त्वले हृदयरोग र केही प्रकारका क्यान्सरको जोखिम घटाउन सघाउने देखिएको छ।

सम्बन्धित खबर