काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपालको राष्ट्रिय फुटबल टिमले आज मंगलबार जोर्डनसंग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले जोर्डनको अम्मान रंगशालामा हुने छनोट प्रतियोगिताको चौथो खेलमा जोर्डनसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
विश्वकप छनोट अन्तर्गत सन् २०११ को अक्टोबरमा भएको खेलमा नेपालले सोही रंगशालामा जोर्डनसंग ९–० को हार ब्यहोरेको थियो ।
नेपाल त्यही रंगशालामा पुन एक पटक जोर्डनसंग विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ ।
जोर्डनविरुद्व करिब ८ बर्ष अघि नेपाली टिमबाट खेलेका तीन खेलाडी अझैपनि राष्ट्रिय टिममा छन् ।
गोलकिपर किरण चेम्जोङ, रोहित चन्द र सुजल श्रेष्ठले पुन दोस्रो पटक घरेलु टोली जोर्डनसामु चुनौती पेश गर्नेछन् ।
फिफा वरियतामा नेपाल भन्दा ६३ स्थानमाथि रहेको जोर्डन बलियो टिम हो । घरेलु मैदानमा जोर्डनले करिब ८ बर्षको प्रभाव पुन देखाउन खोज्नेछ ।
तर पछिल्लो समय प्रर्दशनमा क्रमिक सुधार गर्दै आएको नेपालको फुटबल टिम घरेलु टोलीविरुद्व कम्तिमा अंक खोस्ने प्रयासमा हुनेछ ।
जोर्डनले समुह चरणको पहिलो खेलमा चाईनिज ताईपेलाई २–१ ले हराएको थियो भने कुवेतसंग बराबरी खेलेको थियो ।
एसियाली छनोट अन्तर्गत समुह डीमा रहेको जोर्डन ४ अंक बटुल्दै तेस्रो स्थानमा छ ।
त्यस्तै नेपाल भने पहिलो खेलमा कुवेतसंग ७–० ले हारेको थियो । लगत्तै चाईनिज ताईपेलाई २–० ले हराएको थियो । गत साता मात्र अष्ट्रेलियासंग नेपाल ५–० ले पराजित भएको थियो ।
तालिकामा तीन अंक जोडेको नेपाल नेपाल चौथो स्थानमा छ ।
दुवै टोली अहिलेसम्म दुई पटक आमने सामने भएका छन् । पहिलो खेल जोर्डनले जितेको छ भने दोस्रो बराबरीमा टुङ्गिएको छ । खेल नेपाली समय अनुसार आज राति पौने नौ बजेबाट सुरु हुनेछ ।