काठमाडौँ,असोज २९ । जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।
प्रहरीले साहलाई बुधबार जिल्ला अदालतमा पेस गरेर म्याद थप गरेको हो । प्रहरीले १० दिनको लागि अनुसन्धानका लागि म्याद थपको समय माग गरे पनि अदालतले भने ४ दिनको मात्र म्याद थप गरेर अनुसन्धान गर्नका लागि आदेश दिएको श्रेस्तेदार यज्ञ प्रसाद आचार्यले रातोपाटीलार्ए जानकारी दिए ।
सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।
यता, राजपा नेपालले भने सांसद साहको रिहाइको माग गर्दै जनकपुरमा र वीरगञ्जमा प्रदर्शन गरेको छ । जनकपुरमा चक्काजाम गर्नुका साथै बुद्ध एयरको काउन्टरमा पार्टीका देश नम्बर–२ का संसदीय दलका प्रमुख सचेतक परमेश्वर साह, जनकपुरधाम उपमहानगर पालिकाका उपमेयर रिता झा, पूर्व सांसद दिनेश साह लगायतकाहरु तालाबन्दी गर्न बुद्ध एयरको टिकट बिक्री कक्ष कार्यालयको मूल गेटमा बसेर धर्ना समेत दिएका छन् ।