रवि माथिको प्रतिवन्ध फुकुवाः धरौटी यथावत, विदेश जान र पुडासैनी प्रकरणबारे बोल्न पाउने

Diyo post  

काठमाडौँ, असोज ३० । पत्रकार शालिकराम पुडाशैनी प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ । विहीबार उच्च अदालत हेटौँडाले रवि लामिछानेमाथि विदेश घुम्न र पुडाशैनी प्रकरणबारे खुलेर बोल्न र कार्यक्रम प्रस्तुत गर्न पाउने निर्णय गरेको हो ।

चितवन जिल्ला अदालतको धरौटीबारेको आदेशलाई कायम गर्दै अन्य आदेशलाई भने बदर गरेको छ । उच्च अदालतको आदेशसंगै रविले पुडाशैनी मृत्यु प्रकरणको सम्वन्धमा आफ्नो कार्यक्रममा बोल्न पाउने भएका छन् । यसअघि चितवन जिल्ला अदालतले रविलाई विदेश भ्रमणको लागि समेत अदालतको अनुमति लिनुपर्ने आदेश जारि गरेको थियो ।

उच्च अदालतको यो आदेशपछि लामिछानेले विदेश जान र कार्यक्रम चलाउन पाउने छन्। जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा दिएको निवेदनको दोस्रो सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश सदर गर्ने निर्णय सुनाएको हो। उच्च अदालतका न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशको यस्तो आदेश दिएको हो।

जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ गते निवेदन दिएका थिए। लामिछानले निवेदन दिएको भोलिपल्ट भदौ २४ गते सरकारी पक्ष पनि अदालत पुगेको थियो। दुवैको निवेदनमा उच्च अदालतले जिल्लाको फाइल मगाउने आदेश गरिसकेको छ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने ५ लाख धरौटी बुझाइ रिहा भएका थिए। जिल्लाको निर्णय बदरको माग गर्दै उनले निवेदन दिएका थिए। उच्च अदालतमा आज हुने सुनुवाइले जिल्ला अदालतको आदेशको परीक्षण गर्नेछ।

जिल्लाले गरेको फैसला बदर गर्ने वा सदर गर्ने निर्णय उच्चले गर्नेछ। जिल्ला अदालत चितवनले गरेको आदेशमा पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने, विदेश भ्रमण जानुअघि अदालतको अनुमति लिनुपर्ने लगायतका सर्त राखेको थियो।

सम्बन्धित खबर