चितवन, असोज ३० । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले कम्युनिस्ट पार्टी कामै नलाग्ने स्थितिमा पुगि नसकेको बताएका छन् । चितवनमा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टीभित्र र नेतामा केही सुधार अत्यावश्यक भएको औँल्याएका छन् ।
चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेकपालाई ग्यास्ट्रिक देखि सामान्य अल्सर भएतापनि क्यान्सरकै अवस्थासम्म नपुगेको जिकिर गरेका छन् । आफुलाई नकारात्मकताबाट परिवर्तन गर्नका लागि विगतबाट नै आत्ममुल्यांकन गर्नुपर्ने बेला आएको प्रचण्डको दावि छ ।
‘पहिले आफैभित्रको धुलोमैलौ हेरौँ, हिजो पञ्चायत कालमा भुमिगत भएर संघर्ष गर्दा म कस्तो थिएँ, ०४६ सालपछि कस्तो भएँ, प्रचण्डले भने, जनयुद्धको बेला म कस्तो थिएँ, जनआन्दोलनको बेला म कस्तो थिएँ, शान्ति सम्झौतापश्चात आएको संघिय गणतन्त्र अझ भनौँ देशकै ठुलो पार्टी भएपछि म कस्तो भएँ, कस्तो सोच्न थालेको छु, कसरी काम गर्छु भनेरे हेरेमात्र पनि पुग्छ ।’
अध्यक्ष प्रचण्डले पुन एकचोटी राष्ट्र र जनताको हितमा समर्पित भएर काम गर्छु भनेर दह्रोसँग संकल्प लिनुपर्ने बेला आएको बताएका छन् । सामान्य धुलोमैलो लागेको तर उपचार नै नहुनेगरि क्यान्सर नभइसकेको बताउँदै अध्यक्ष दाहालले बेलैमा उपचार गर्ने बेला भएको बताए ।
उनले देशभरिका प्रतिगामी तत्वहरुले चितवनलाई नै अखडा बनाउने डर रहेको बताएका छन् । चितवनलाई अराजकताको केन्द्र बनाउन सकियो भने काठमाडौँको शासन तथा परिवर्तित संघिय लोकतान्त्रिक गणतन्त्रप्रति देशभरिको जनतामा वितृष्णा फैलाउन पाइएला भन्ने मानसिकताका साथ चितवनमा अराजक तत्वहरुले खेलिरहेको बताए ।