विमानस्थलमा तोडफोड गर्ने राजपा सांसद साधारण तारेखमा रिहा

दियो पोस्ट  

काठमाडौँ, कात्तिक १ । जनकपुर विमानस्थल स्थित वुद्ध एयरको काउन्टरमा तोडफोड प्रकरणमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । राष्ट्रिय जनता पार्टीका सांसद साहलाई जिल्ला अदालत धनुषाले साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको हो ।

जिल्ला अदालत धनुषामा शुक्रबार भएको थुनछेक बहसपछि शाहलाई साधारण तारेखमा रिहा गरिएको हो । साह रिहा भएपछि भोलिको धनुषा जिल्ला बन्दको कार्यक्रमसमेत राजपा नेपाल धनुषाले फिर्ता लिएको छ ।

जनकपुर नागरिक उड्डयन कार्यालय धनुषाको प्रमुख सन्तोष ढकालको दिएको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य प्रमोद साह रहेको मुद्दाको शुक्रबार थुनछेक बहस भएको थियो ।

जनकपुरबाट काठमाडौँ जाने विमान दुई घण्टा ढिलो भएको विषयमा विवाद हुँदा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सैनिक हवाई उडान ऐन २०१५को दफा ९ कको आधारमा अपराध गरेको कारणले उनिमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको माग दावीसहित अदालतमा सरकारी वकिल कार्यालय मुद्दा दर्ता गरेको थियो ।