काठमाडौँ, कात्तिक १ । घरजग्गा व्यवसायी सुधीर बस्नेतले शंखमूलमा ४ रोपनी २ आना जग्गामा ८० करोड रुपैयाँको लागतमा निर्माण सुरु गरेको अपार्टमेन्टमा रोशन साह नामका व्यक्तिले ठगी धन्दा चलाएको पाइएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको आडमा कब्जा गरी विभिन्न व्यक्तिलाई बिक्री गरेर फ्ल्याट पास गरेर नदिएपछि रकम बुझाउने पीडितहरुले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गरेका थिए । सोही उजुरीपछि प्रहरीले साहलाई पक्राउ गरे पनि बिहीबार महाशाखाले पक्राउ गरेलगत्तै सत्तारुढ नेकपाका प्रवक्ता श्रेष्ठको दबाबमा खुसुक्क छाडेको छ ।
सुधीर बस्नेतलाई अप्ठ्यारो परेको मौका छोपी रोशन साह २०६९ मंसिर ११ गते बागमती अपार्टमेन्टमा काम गर्न भनी मोहन केसी र शिवदास मानन्धरको माध्यमबाट बागमती अपार्टमेन्ट पुगेका थिए । अपार्टमेन्टमा छिरेपछि साहले नेकपाका प्रवक्ता श्रेष्ठलाई सित्तैमा अफिस चलाउन फ्ल्याट दिएको र त्यसको सञ्चालन सुशान कर्माचार्य नामकी महिलाले गर्ने गरेको थाहा भएको छ । कल्याण निर्माण सेवा र आयुसा डेभलपर्सबीच सम्झौता भएको थियो । बस्नेतलाई अप्ठ्यारो परेको मौका पारेर छिरेका साहले नेकपा प्रवक्ता श्रेष्ठको साथ पाएपछि २०७३ साउन २२ गते केसी र मानन्धरलाई पार्टनरबाट हटाएर बागमती अपार्टमेन्ट कब्जा गरेका थिए । प्रवक्ता श्रेष्ठकै आडमा साहले १६ वटा अपार्टमेन्ट बिक्री गरेका थिए ।
प्रवक्ता श्रेष्ठको आडमा अपार्टमेन्ट कब्जा गरेर बसे पनि साहले रकम लिएका व्यक्तिहरुलाई अपार्टमेन्ट पास गरेर दिनसकेका थिएनन् । उनी त्यसको रेखदेख गर्ने गोठालोजस्तै थिए । उनी असली मालिक नभएकाले अपार्टमेन्ट पास गरेर दिने हैसियत राख्दैनथे । तर रकम बुझाउने व्यक्तिहरुले अपार्टमेन्ट पास गरिदिन दबाब दिँदै ग एभने साहले भोलि–भोलि भन्दै उनीहरुलाई झुलाउँदै गए । आफूले मात्रै उनीहरुको दबाब थेग्न नसकेपछि सित्तैमा अपार्टमेन्ट लिएर हालीमुहाली गर्दै आएकी सुशान कर्माचार्यलाई भन्न लगाएर पनि साहले पीडित बुकिङकर्ताको ऊँचो स्वर दबाउने काम गरेका थिए । एक हदसम्म उनीहरु चुप लागे पनि सधैँका लागि मुख थुन्न सकिने अवस्था रहेन । फेरि उनीहरुको दबाब बढेपछि साहले प्रवक्ता श्रेष्ठलाई गुहारेर अपार्टमेन्ट लिलाम गर्न लगाउने प्रपञ्च तयार पारेका थिए ।
उक्त अपार्टमेन्ट बनाउन बस्नेतले बैंक अफ काठमाण्डूबाट दश करोड कर्जा लिएका थिए । अहिले त्यसको साढे आठ करोड कर्जा तिर्न बाँकी रहेको छ । बैंकसँगको मिलेमतोमा अदालत बन्द रहने समय पारेर असोज १६ गते लिलाम गर्ने सूचना निकालियो । त्यति बेला अदालत बन्द थियो । अदालत २२ गते अदालत बन्द हुने हुँदा त्यति बेलासम्म अदातल बन्द रहने भएकाले बागमती अपार्टमेन्ट पूर्ण रुपमा कब्जा गर्न सकिने र रकम लिएका १६ जनालाई पनि फ्ल्याट नामसारी गर्न सकिने उपाय निकालेका थ्एि । तर असोज १० गते अन्तिमतिर आदेश जारी भएको थियो ।
बागमती अपार्टमेन्ट उपभोक्ता समितिका अध्यक्ष जनक रिजालले ठगीको मुद्दा दिएका थिए । काठमाडौं जिल्ला अदालतले गत असोज १० गते शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि अदालत बन्द भएकाले दशैँपछि पक्राउ गर्ने सहमति भएको थियो र सोही पक्राउ पुर्जीको आधारमा प्रहरीले हिजो अर्थात् बिहीबार साहलाई पक्राउ गरेको थियो । तर उनी पक्राउ परेलगत्तैदेखि सातौँ तलाको ८ नम्बर फ्ल्याट निःशुल्क रुपमा लिएकी सुशान कर्माचार्यले महाशाखा पुगेर प्रहरीलाई दबाब दिएकी थिइन् ।
नेकपाका प्रवक्ता श्रेष्ठको अफिस सञ्चालन गर्ने कर्माचार्यमार्फत परेको श्रेष्ठको दबाबका कारण महाशाखाका एसएसपी सहकुल थापाले अदालतको पक्राउ पुर्जी अवज्ञा गरेका हुन् । सोहीअनुसार प्रहरीले बिहीबार साँझ बैंक अफ काठमाण्डूलाई सात करोडको चेक दिलाएर छाडिएको छ । साहले प्रवक्ता श्रेष्ठको आडमा सुधीर बस्नेतको बागमती अपार्टमेन्टका १६ वटा अपार्टमेन्ट बिक्री गरेका छन् । तीमध्ये ७ तलाको ८ नं. अपार्टमेन्ट सुशान कर्माचार्यलाई सित्तैमा दिइएको छ । तर सरोज खनाल, सारदा पाण्डे, दुर्गादेवी दुलाल, अनिश साह, राजेश्वरी खनाल, कुरवीन्दर कौर लम्सला, सुरेश भक्त श्रेष्ठ, जुनकला श्रेष्ठ, श्रृजना काफ्ले, रञ्जन अधिकारी, मञ्जु ज्ञवाली, नवीनराज भण्डारी, मञ्जुराज भण्डारी, उत्तम पराजुली र पूजा शाहीबाट जनही २० लाख रुपैयाँ बैना लिइएको छ ।
पुर्जा दिएपछि बाँकी रकम ६८ सय प्रतिवर्गफिटका दरले रकम बुझाउने सम्झौता गरिएको छ । अपार्टमेन्टमा बसेका सबै उपभोक्ताको तर्फबाट जनक रिजालले गरेको उजुरीका आधारमा जारी भएको पक्राउ पुर्जीअनुसार पक्राउ परेका साहलाई प्रहरीले नेकपा प्रवक्ता श्रेष्ठको दबाबमा छाडेको मोहन केसीले बताए । अदालतले पक्राउ पुर्जी जारी गरेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाउनुपर्ने हो तर एसएसपी थापाले प्रवक्ता श्रेष्ठको दबाबमा लुसुक्क छाडिदिएका छन् । आर्थिक दैनिकबाट ।