काठमाडौँ, कात्तिक ३ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका–९ चोरमारा बसन्तपुरकी आशा ज्ञवालीको उपचारको क्रममा मृत्यु भएको हो ।
पिनासको उपचारको लागि चितवन मेडिकल कलेज पुगेकी आशाको गत असोज २७ गते नाकको शल्यक्रिया भएको थियो । शल्यक्रिया पश्चात आशाको अवस्था बिग्रँदै जाँदा शनिबार दिउँसो अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
सामान्य पिनासको अपरेशन गरेको बिरामीको मृत्यु भएपछि बिरामीको आफन्तहरु आन्दोलित भएका छन् । उनिहरुले आइतबार अस्पतालमा तोडफोड गरेका छन् । चिकित्सकले चरम लापरवाही गरेको भन्दै अस्पताल परिसरका ब्यानरसहितको चर्को नाराबाजी गर्दै उपचारमा खटिएका चिकित्सकको लाइसेन्स खारेजीको माग गरेका छन् ।
अस्पतालको लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु विरोधमा उत्रिन थालेपछि अस्पताल प्रशासनले उनिहरुसंग वार्ता गरेको थियो । तर वार्ता नमिलेपछि बिरामीका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका छन् । उनिहरुले ढुंगामुढा प्रहार गरि अस्पतालको झ्यालको सिशा फुटाएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
अस्पताल परिसरमा चर्को नाराबाजी र हुलदंगा मच्चिएपछि जिल्ला प्रहरी कार्यलयले अस्पतालमा प्रहरी परिचालन गरि भिडलाई नियन्त्रणमा लिने कोशिस गरेको छ । प्रहरीले भीडलाई नियन्त्रण गर्नका लागि अश्रुग्याँस समेत प्रहार गरेको छ ।
बिरामीको आफन्तहरुले गरेको ढुंगामुढा प्रहारबाट केही प्रहरी अधिकारीहरु समेत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।