काठमाडौँ, कात्तिक ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुरा काट्नेहरु काम काट्न थाल्ने बताएका छन् । नागढुंगा–सिस्नेरी सुरुङमार्गको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केही समुहहरु सरकारको आलोचना मात्रै गर्ने रहेको बताए । प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्नेहरु नै केही समयपछि प्रशंसा गर्न लाग्ने विश्वास व्यक्त गरे ।
नागढुंगा–सिस्नेरी सुरुङमार्ग पनि निर्धारित समयमै सम्पन्न गर्नका लागि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । अधिकांश ठेकेदार कम्पनीहरु विभिन्न बहानामा परियोजना निर्माणमा ढिलाई गर्ने बताउँदै उनले ठेक्का पाएको जापानी कम्पनीले भने समयमै परियोजना सम्पन्न गरेर सरकारको योजनालाई सफल बनाउने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सरकारले बिकास निर्माणको कामलाई तिब्रताका साथ अगाडी बढाइरहेको बताएका छन् । उनले टोखा–छहरे, बेत्रावती–स्याफ्रुवेशी सुरुङमार्गलाई समेत सरकारले अगाडी बढाउन लागेको बताएका छन् । चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको समयमा उक्त सुरुङमार्गबारे अध्ययन गर्ने समझदारी भएको थियो ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारको पालामा इतिहासमा कहिल्यै नभएका काम भएको दाबी गरे । १६०० किलोमिटर त सडक कालोपत्रे मात्र गरिएको, २४३ पक्की पुल र दुई सय हाराहारी झोलुंगे पुल बनेको बताए । ‘हामीले बाटाहरु मात्र बनाइरहेका छैनौं । एयरपोर्टहरु बन्दैछ । फास्ट ट्र्याक बन्दैछ, हुलाकी राजमार्ग सकिनै लागेको छ,’ उनले अघि भने ।
अधिकांश समय सरकारको कामको चर्चा गरेका बैंक खाता, जेष्ठ नागरिकको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष लगायतका कार्यक्रम उल्लेख गरे ।
आफूले पानी जहाजको कुरा गर्दा कतिपयले खिल्ली उडाए पनि अहिले कोलकाताबाट विराटनगर नजिकसम्म पानी जहाजमा साउन आउन थालेको प्रधानमन्त्री ओलीले दावी गरे । सप्तकोसीमा सानो भए पनि पानी जहाज चलेको भन्दै प्रधानमन्त्रीले २० मिनेटमा सुनसरीबाट भोजपुर पुग्न सकिने बताए । उनले भने, ‘कुरा गर्ने मान्छेहरु कुरा गरिरहेका छन् । सरकारले काम गरिरहेको छ । दुरगामी असर पार्ने कदमहरु चालेको छ ।’
सरकारको कुरा काटेर हिँड्नेहरु केही बर्षपछि नै प्रशंसामा उत्रिने प्रधानमन्त्री ओलीले बताएका छन् । ‘राष्ट्र निर्माणका लागि अन्य देशहरुसँग आश गरेर हुँदैन’, प्रधानमन्त्री ओलीले भने, आफ्नो देश आफैले बनाउने हो ।