काठमाडौं । निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ । उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्नका लागि जिल्ला निर्वाचन अधिकृत तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदहरूमध्ये प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।
“मिति २०७६ कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगको मिति २०७६ कात्तिक ३ गतेको निर्णयबाट न्याय परिषद्को परामर्शमा ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ,” आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
