मानवअधिकार आयोगको खुलाशाः कुमार पौडेल दोहोरो भीडन्तमा मारिएका होइनन्

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक ४ । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको खुलाशा भएको छ । सोमबार राष्ट्रिय मानव अधिकार आयोगले पौडेलको प्रहरीसँगको मुठभेडमा मृत्यु नभइ नियोजित रुपमा हत्या गरिएको ठहर गरेको हो ।

प्रहरीले भने कुमार मुठभेडमा मारिएको बताएको थियो । प्रहरीले आत्मरक्षाको लागि गोली चलाएको र सोही गोली लागेर पौडेलको मृत्यु भएको प्रहरीले बताउँदै आएका थिए ।

घटनाको सत्यता बारे चौतर्फी आवाज उठ्न थालेपछि राष्ट्रिय मानवअधिकार आयोगलेसमेत चासो दिएको थियो । घटनाबारे प्रत्यक्ष रुपमा छानविन गर्नका लागि प्रहरी प्रधान कार्यलय नक्सालको प्रत्यक्ष निर्देशनमा खटिएका २ नं. प्रदेश प्रहरी कार्यालयको समन्वयमा समेत परिचालित भएका प्रहरीले निजलाई नियन्त्रणमा लिए पश्चात अनावश्यक रुपमाबल प्रयोग गरी ९ गोली हानी मारिएको, प्रहरीले आत्म रक्षा र दोहोरो भीडन्त भनी दावी गरेकोमा दोहोरो भीडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको देखियो,” आयोगले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ, “घटनाको प्रकृति, संकलित प्रमाण समेतबाट निजलाई नियन्त्रणमा लिई मारिएको आयोगको अनुसन्धानबाट देखियो । प्रहरीबाट घटनाको निष्पक्ष अनुसन्धान नभएको । घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का तयार गर्दा मेडिकोलिगल दृष्टिकोणबाट समेत त्रुटि भएको देखियो ।”

आयोगले घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।