बैतडी, कात्तिक ५ । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा बाटो खन्ने क्रममा महिलालाई उधिनेर हुत्याउने डोजरका चालक पक्राउ परेका छन् ।
सडक निर्माणका विषयमा गाउँलेहरु बिच विवाद भएपछि स्थानीयहरुले केही समयका लागि बाटो खन्न स्थगित गर्न माग गरेका थिए । बाटोमा सामान्य विवाद उब्जिएको र सो बिवाद समाधान गरेपछि बाटो खन्न आग्रह गरेतापनी डोजर चालकले कसैको आग्रहलाई नमानी डोजर चलाएका थिए ।
डोजर चलाएपछि स्थानीयहरुले प्रतिवाद गरेका थिए । उनीहरुले डोजर र चालकमाथि ढुंगामुडा गरेको दृश्य एक टेलिभिजनले सार्वजनिक गरेको थियो । ढुंगामुढा गर्न थालेपछि डोजरका चालकले स्थानीय महिला गौरी जोशीलाई डोजरले उधिनेर फालिदिएका थिए । डोजरले फालेपछि जोशी घाइते भएकी थिईन् ।
घटनापछि प्रहरीले डोजरका चालक किशोर बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको र सोमबार साँझसम्म बेहोस रहेको बताइएको छ ।
सडक निर्माण हुने स्थान गुठीको जग्गा पर्ने भएकोले गाउँले संग छलफल गरेर मात्रै निर्माण कार्य संचालन गर्नका लागि उनिहरुले समय माग गरेका थिए । सबै स्थानीयहरु संग सहमत गराएर सडक निर्माण प्रकृया अगाडी बढाउन खोज्दा विपक्षी मानिसहरुसँग झडप भएको थियो । झडपमा परि दुवै पक्षका एक दर्जन व्यक्तिहरु घाइते भएका छन् ।
घाइतेहरुमा रोक्ने पक्षका गौरी जोशी र सुरेन्द्र प्रसाद जोशीको धनगढीमा उपचार भइरहेको छ। सडक निर्माण गर्नुपर्छ भन्ने पक्षका नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएकोमा उनीहरु जिल्ला अस्पातलमा समान्य उपचारपछि घर फर्किएका छन्।
डोजर आतंकको भिडियो संचार माध्यममा आएपछि यस घटनाले राष्ट्रिय स्वरुप लिएको छ । सामाजिक संजालमा समेत घटनालाई लिएर विभिन्न प्रतिक्रियाहरुको बर्षा हुन थालेको छ । जिल्ला प्रहरी कार्यलयले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।