काठमाडौँ, कात्तिक ५ । नेपाली काँग्रेसका निलम्वित सांसद अफ्ताव आलममाथि पोलीग्राफ परिक्षण गरि झुठ र सत्यको अनुसन्धान गर्न खोजिए पनि उनले अस्वीकार गरेका छन् । मंगलबार रौतहट जिल्ला प्रहरी कार्यलयले अनुसन्धानको क्रममा उनले सत्य अथवा झुठ बोलेको कुरालाई पोलिग्राफ परिक्षण गर्ने तयारी गरेपनि आलमले त्यसलाई अस्वीकार गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रमुख भुपेन्द्र खत्रीले आवश्यक परेका खण्डमा उनिमाथि पोलिग्राफ परिक्षण गर्ने बताएका छन् । अनुसन्धानको क्रममा हिरासतमा रहेका आलमले वयानको क्रममा झुठ बोलेको अथवा साँचो बोलेको पत्ता लगाउन पोलिग्राफ प्रयोग गरिने प्रहरीले जनाएको छ ।
रौतहटमा २२ जनालाई ज्यूदै जलाइएको घटनालाई प्रहरीले १२ बर्षपछि आएर अनुसन्धान गर्न लागेको छ । घटनालाई विभिन्न कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
१२ बर्षअघि नै घटनामा प्रमाणहरु नष्ट गरिसकेको भएतापनी प्रहरी बाँकी प्रमाणहरु जुटाउन लागेको छ । २२ जनालाई ज्यूँदै जलाइएको इँट्टाभट्टा बन्द भएर त्यस स्थानमा हाल खेतीपाती गरको अवस्थामा छ भने बम विस्फोट भएको घरसमेत पुन निर्माण गरिएको बताइएको छ । यस्तो अवस्थामा प्रहरीलाई प्रमाण जुटाउनका लागि संघर्ष गर्नुपर्ने देखिएको छ ।