पशुपतीको शवदाहमा काम गर्ने कामदारले उपदानबापत ५ लाख पाउने

दियो पोस्ट  

काठमाडौँ, कात्तिक ६ । पशुपतीको आर्यघाटको शवदाहमा काम गर्ने कामदारहरुको सेवा सुविधामा बृद्धी भएको छ । बुधबार विहानदेखि विभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएका कामदारहरुले विहीबार समितिले माग पुरा गर्ने प्रतिवद्धता गरेपछि आन्दोलन फिर्ता लिएका हुन् ।

सेवासुविधाको बृद्धीको माग गर्दै बुधबारदेखि पशुपति क्षेत्रमा लास जलाउने, खाल्डो खन्ने, दाउरा खोज्ने कामदारहरुले काम ठप्प पारेका थिए । काम नै ठप्प पारेपछि पशुपति क्षेत्र विकास समितिले आन्दोलित कामदारहरुलाई बोलाएर वार्ता गरेको थियो ।

अब लास जलाउने कामदारले एउटा लास जलाएवापत १५ सय रुपैयाँ पाउने भएका छन् । यसअघि एउटा लास जलाएवापत १२ सय दिइँदै आएको थियो । साथसाथै कामदार अवकाश हुँदा उपदानस्वरुप ५ लाख पाउने छन् । कामदारहरुले उपदान वापत १० लाख पाउनुपर्ने माग राख्दै आएका थिए । यसअघि कामदारहरुले उपदानवापत ५० हजार मात्रै पाउथे ।

कामदारको आन्दोलनले शव जलाउन समस्या हुने देखिएपछि कोषले विद्युतीय शवदाह गृह सञ्चालनमै राखेको थियो भने दाउरामै शव जलाउन खोज्नेलाई वैकल्पिक व्यवस्था गरेर अरू कामदार तयारी अवस्थामा राखेको थियो।

त्यस्तै औषधि उपचारका लागि पाँच हजार रुपैयाँ खर्च दिँदै आएको कोषले अबदेखि पन्ध्र हजार रुपैयाँ पुर्‍याएको हो। कामदारहरुको दुई लाख रुपैयाँ बराबरको बीमा गर्ने पनि सहमति भएको पशुपती क्षेत्र विकास समतिले जानकारी दिएको छ ।

सिफारिस