साढे १ बर्ष कैद सजाय तोकिएपछि राजपा उपाध्यक्ष रामनारायण यादव फरार

दियो पोस्ट  

जिल्ला अदालत सप्तरीद्धारा विस्फोटक पदार्थसम्बन्धी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकिएका राजपा उपाध्यक्ष रामनारायण यादव भागिरहेका छन् ।
उनी प्रहरीको फरार सूचीमा रहेको खुलेको छ । उनी सप्तरीको छिन्नमस्ता गाउँपालिका सखडाका हुन् ।
कर्तव्य ज्यान, आगलागी र डाँका मुद्दामा २०६९ मंसिर २६ गते पक्राउ परेका सप्तरीको साबिक रम्पुरा मल्हनिया गाविसका कमलेश यादव भनिने किसन यादवको बयानका आधारमा सप्तरी प्रहरीले रणवीर सिंह भनिने रामनारायणको खोजी थालेको थियो।

रामनारायण त्यतिबेला तराईमा भूमिगत सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा रणवीर सिंह समूहका केन्द्रीय अध्यक्ष थिए। रणवीर सिंह उनकै भूमिगत संगठनभित्रको नाम थियो।

कमलेशले रामनारायणलगायतसँग सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी हनुमाननगर–कुनौली सडक खण्डभन्दा १ किलोमिटरपूर्व पुलनजिक सडकमा बम गाडेको बयान दिएका थिए। त्यसपछि प्रहरीले कमलेशले भनेको ठाउँमा उत्खनन गर्दा बम फेला परेको थियो।

कमलेशको बयानपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले विस्फोटक पदार्थसम्बन्धी मुद्दामा रामनारायणलाई समेत विपक्षी बनाउँदै पक्राउ गर्न मातहतको इलाका प्रहरी कार्यालय सखडालाई २०६९ पुस ३ गते पत्राचार गरेको थियो। तर रामनारायणलाई प्रहरीले पक्राउ गर्न सकेन। लगत्तै जिल्ला अदालत सप्तरीले उनको नाममा म्याद जारी गरेको थियो। तर जारी भएको म्याद २०७० जेठ १ गते तामेली भए पनि रामनारायण अदालतमा उपस्थित नभएको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार बर्देवाले बताए। कान्तिपुर दैनिकबाट

सिफारिस