प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

दियो पोस्ट  

काठमाडौँ, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् । बिहीबार कतार एयरवेजको विमानबाट अजरबैजान प्रस्थान गरेका हुन् । असंलग्न राष्ट्रहरुको १८ औँ सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री अजरवैजान गएका हुन् ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागीलगायतका परराष्ट्र अधिकारीहरुको सहभागिता रहेको छ । आगामी शुक्रबार र शनिबार बाकुमा हुने सो सम्मेलनमा विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवास नेम्वाङ, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल तथा नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए भने नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीले सम्मेलनको क्रममा विभिन्न देशका सरकार प्रमुख र राष्ट्रप्रमुखहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली कार्तिक १० गते आईतबार स्वदेश फर्कनेछन् ।