
काठमाडौँ, कात्तिक ७ । पछिल्लो समय निकै चर्चा कमाउन सफल र्यापर समिर घिसिङ एकेए ‘भिटेन’ पक्राउ परेका छन् । विहीबार महानगरिय अपराध महाशाखाको टोलीले भिटेनलाई जावलाखेलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनको गीतहरुमा अश्लील शब्दहरुको बढी प्रयोग भएको कारण उनलाई प्रहरीले पक्राउ गरेको हो । उनको निकै चर्चित गीत ‘हामी यस्तै त होनि ब्रो’ मा अत्याधिक मात्रामा अश्लील शब्दहरुको प्रयोग गरिएको कारण उनलाइ पक्राउ गरेको महानगरिय अपराध महाशाखाले जनाएको छ ।
उनलाई पक्राउ गर्नुको कारण अर्को पनि छ । गत महिना सेप्टेम्बर १६ का दिन भिटेनले फेसबुक पेजमा आफ्नोे एउटा तस्वीर अपलोड गरेका थिए । तस्वीरमा उनले प्रहरीको वर्दी लगाएका थिए । प्रहरीको वर्दी लगाएर चुरोट तानिरहेका थिए भने अर्को हातले गाँजा केलाइरहेका थिए । सामाजिक संजालमा यो तस्वीर निकै भाइरल बनेको थियो । साढे २ लाखभन्दा बढी लाईक भएको उनको फेसबुक पेजमा यो फोटो १ हजार २ सय पटक शेयर भएको थियो ।

प्रहरीको बर्दी लगाएर अनैतिक क्रियाकलाप सामाजिक संजालमा पोस्ट गरेको कारण पनि भिटेनलाई पक्राउ गरिएको प्रहरीको दावि छ ।