एजेन्सी । भारतका एकजना कुख्यात शिकारीलाई प्रहरीले पक्राउ गरेको छ । भालु मारेर त्यसको लिंग र पित्त खाने शिकारीलाई भारतीय प्रहरीले निकै मेहनत गरेर पक्राउ गरेको हो ।
धेरै बर्षदेखि फरार रहेका यार्नेन नाम गरेका ती शिकारीलाई नियन्त्रणमा लिन सक्नुलाई भारतीय प्रहरीले निकै ठुलो सफलताको रुपमा लिएको छ ।
भारतका एक निकुञ्जमा गुप्तांग काटिएको अवस्थामा भालुको शवहरु भेटिन थालेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । उनलाई गुजरात प्रहरीले १९ अक्टोबरको दिन पक्राउ गरेको हो ।
पक्राउपश्चात उनलाई प्रहरीको हिरासतमा राखिएको छ । प्रहरीले उनिमाथि अहिलेसम्म कुनैपनि अभियोग लगाईनसकेको बीबीसीले जनाएको छ । उनलाई बुधबार अदालत उपस्थित गराइएको थियो ।
को हुन् यार्नेन ?
यार्नेन फिरन्ते आदीवासी समुदायका व्यक्ति हुन् । उक्त जातिका मानिसहरू जीवनयापनको लागि सिकार गर्छन्। उनको समुदायमा भालुको लिंग् सेवन गर्दा कामोत्तेजना बढ्ने अन्धविश्वास रहेको छ ।
उनी मध्य र पश्चिम भारतमा बाघ तथा अन्य लोपोन्मुख जनावरको अवैध सिकार र तस्करीमा संलग्न एक प्रमुख व्यक्ति रहेको समेत प्रहरी रेकर्डमा रहेको भारतको मध्यप्रदेश प्रहरीको दावि छ । प्रहरीबाट जोगिन उनले विभिन्न छद्म नाम प्रयोग गर्ने गरेको बताइन्छ।
६ बर्षको अथक मेहनत पश्चात पक्राउ
उनको खोजी र पक्राउका लागि प्रहरीले एउटा विशेष एकाइ नै बनाएका थिए । ६ वर्षसम्म चलेको निकै लामो खोजी पश्चात उनलाई पक्राउ गर्न सफल भएको वन विभागको विशेष कार्यदलको नेतृत्व गर्ने रितेश सिरोठियाले भने।
यार्लेन सबैभन्दा पहिले सन् २०१३ मा पक्राउ परेका थिए। त्यतिखेर प्रहरीले लिङ्ग र पित्तको थैली निकालिएका दुईवटा भालुका शव फेला पारेका थिए।
जेलमा एक वर्ष बिताएर जमानतमा रिहा भएपछि उनी फरार भएको प्रहरीको भनाइ छ।
भालुको पित्तको महत्व
भालुको कलेजोमा बन्ने पित्त उसको पित्ताशयमा जम्मा हुन्छ। भालुको पित्तलाई परम्परागत चिनियाँ उपचार पद्धतिमा कामोत्तजक औषधिका रूपमा प्रयोग गरिन्छ।
भालुको पित्त गैरकानुनी रूपमा गोप्य अन्तर्राष्ट्रिय बजारमा पुग्ने र महँगो मूल्यमा बिक्री हुने बताइन्छ।