काठमाडौं, कार्तिक ८ । सर्वोच्च अदालतले पूजा बोहोरालाई सामूहिक बलात्कार गर्ने दुई जना अभियुक्तलाई दोषी ठहर गरेको छ । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको इजलासले अदालतमा ६ वर्षदेखि पुनरावेदनका रुपमा अल्झिएको मुद्दाको सुनुवाइ गर्दै बोहोरालाई बलात्कार गर्ने दुईजनालाई दोषी ठहर गरेको हो।
अभियुक्तहरु सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरे पनि सजाय भने निर्धारण हुन बाँकी रहेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले बताए ।
उनीहरुलाई हुने सजाय एक महिनाभित्र प्रधान र फुयालकै इजलासबाट सजाय निर्धारण हुने सर्वोच्चले जनाएको छ।
१४ वर्षीय किशोरी बोहोरालाई २०६८ चैत ७ गते एसएलसीको गणित विषयको ग्रेस पेपर किन्न जाँदा भट्ट र अवस्थीले नसालु सुई लगाइ सामूहिक बलात्कार गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई जबरजस्ती करणीपछि नालीमा फालिएको अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको थियो।
पीडित बोहोराले प्रहरी र अदालतमा फरक फरक बयान दिएकी थिइन्। त्यसलाई आधार बनाएर पुनरावेदनले अभियुक्तालाई सफाइ दिए पनि सर्वोच्चले जिल्ला अदालतले गरेको फैसलालाई सदर गरेको हो।