धादिङ अस्पतालमा अर्को लापरबाही : म्याद गुज्रेको औषधी दिएपछि बालकको अवस्था गम्भिर !

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता


धादिङ, १० कार्तिक । जिल्ला अस्पताल धादिङमा एक नावालकको उपचारमा गम्भिर लापरबाही भएको पाइएको छ ।


धादिङ सदरमुकाम धादिङवेशीमा रहेको उक्त अस्पतालमा निलकण्ठ नगरपालीकाकै २१ महिनाका अंकित श्रेष्ठको उपचारमा चरम लापरबाही भएको पाइएको हो ।

सामान्य ज्वरो आएर जिल्ला अस्पतालमा पुर्याइएको उनलाई जिल्ला अस्पताल भित्र रहेको फार्मेसीले म्याद नाघेको औषधी दिएपछि उक्त औषधी सेवनकै कारण बालक गम्भिर विरामी परेका छन् ।

जिल्ला अस्पतालमा दिएको औषधी सेवनपछि गम्भिर विरामी परेका बालकलाई यतिबेला काठमाडौंको महाराजगन्ज स्थित कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ ।


‘औषधी खुवाएपछि झनै बच्चाको विरामी बढ्यो हामीले तत्काल काठमाडौं ल्यायौँ,’ बालकका आफन्त अर्जुन कुमार श्रेष्ठले दियोपोस्टसँग भने,‘औषधी नै म्याद सकिएको दिएको रहेछ ।’
विरामी बालकलाई झोलबाट खुवाइने ५० एमएलको ‘टाईमोल’ नै म्याद गुज्रेको दिइएको पाइएको छ ।


सेप्टेम्बर २०१७ देखि अगष्ट २०१९ सम्म म्याद रहेको उक्त औषधीको नेपाली मिति अनुसार २ महिना अघि नै म्याद सकिएको थियो ।


अस्पताल व्यवस्थापनका लापरबाहीका कारण यस्तो हुन गएको अस्पतालका एक कर्मचारीले बताए ।


तर जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले उक्त औषधी विरामी बालकलाई जिल्ला अस्पतालले नदिएको बताउँछन् । ‘जिल्ला अस्पतालबाट त्यो औषधी दिएको होइन । उहाँहरुले बाहिरबाटै किनेको भएपनि बिल ल्याउनुस् अनि कारबाही गर्छौं भनिरहेका छौँ,’ धमलाले भने,‘म यहि विषयमा छलफल गर्दैछु ।’


जिल्ला अस्पताल धादिङमा डेंगुका विरामी अत्याधिक बढेको भएपनि डेंगु परिक्षणका लागि आवश्यक पर्ने किट नै छैन ।


‘हाम्रो अस्पतालमा किट छैन । हामी प्रदेशसँग समन्वयमा छौँ,’ धमलाले भने,‘मुख्य मन्त्री ज्युले नै आश्वासन दिनु भएको छ । हामी लागि रहेका छौँ ।’

सम्बन्धित खबर

सिफारिस