धादिङको चुनिखोलामा बोलेरो खस्यो, २४ जना घाइते

दियो पोस्ट  

काठमाडौँ, कात्तिक १४ । धादिङको गजुरी गाउँपालिका–२ चुनिखोलामा बोलेरो जिप दुर्घटना भएको छ । बिहीबार विहान ९ बजे बेनिघाट रोराङ गाउँपालिका २ ताल्तीबाट आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोेलेरो जिप कच्ची सडकबाट करिब ३० मिटर तल खोेलामा खसेको हो ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुमध्य १३ जनालाई काठमाडौँस्थित ट्रमा सेन्टर ल्याइएको छ भने ८ गजुरी अस्पताल र बाँकीको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिएका छन् । तीब्र गति र कच्ची सडक र क्षमताभन्दा बढी यात्रु बोकेको कारण दुर्घटना भएको हो ।

घाइतेहरुमा गजुरी गाउँपालिका २ का २३ बर्षीय अच्युत सिलवाल, २५ बर्षीय भीम सिलवाल, नवराज खरेल, १५ बर्षीय बिवश सेडाई, ताल्तीका ३४ बर्षीय शान्तिमाया तामाङ, मकवानपुरस्थित मनहरी गाउँपालिका ३ का २८ बर्षीय सुनिल दर्जी, बेनिघाट रोराङ गाउँपालिका–४ का २४ बर्षीय नरेश सिलवाल, गजुरी गाउँपालिका–३ का २२ बर्षीय दिनेश तामाङ बेनिघाट रोराङ–२ की १८ बर्षीया सरस्वती रेग्मी लगायत रहेका छन् ।