
काठमाडौँ, कात्तिक १४ । साझा पार्टीले भक्तपुरबाट सुरज प्रधानलाई प्रदेशसभा उम्मेद्वार बनाउने निर्णय गरेको छ । पार्टीका जिल्ला संयोजकको रुपमा रहेका २८ वर्षीय प्रधानलाई बिहीबार प्रदेशसभा उम्मेद्वार घोषणा गरिएको हो ।
बिहीबार साझा पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले एक विज्ञप्ती जारी गर्दै प्रधानलाई भक्तपुरको निर्वाचन क्षेत्र नं १(क) बाट प्रदेश सभा उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिएका छन् ।
प्रधान लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील रहेको बताइएको छ । विज्ञप्ती अनुसार प्रधानले वातावरणमैत्री इट्टा उत्पादनको व्यवसाय गर्ने जनाइएको छ ।
प्रधानले आफुलाई निर्वाचित गराइएको खण्डमा सरकारबाट आउने पुरै तलब आफ्नो निर्वाचन क्षेत्रमा लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले पद्दती, पारदर्शीता, इमानदारी र उत्कृष्ठताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्न आफु प्रतिवद्ध रहेको समेत बताएका छन् ।
साझा पार्टीले आउँदो शनिबार दाङ निर्वाचन क्षेत्र नं ३ (ख) को प्रदेशसभा उमेदवार दाङमैँ एउटा कार्यक्रमका बीच औपचारिक घोषणा गर्ने बताएको छ ।