फल्चासँग ‘चुरिफूरी’ गर्दा ‘रसातल’मा श्री लालीगुराँस सहकारी, पुल्चोकबाट ‘भाग्ने’ तयारी !

diyopost.com
दियो पोस्ट  बिहिबार, आश्विन २१, २०७८ | ११:३८:१७

काठमाडौं । ललितपुरकै ऐतिहासिक समय् फल्चा पुनर्निर्माणमा अवरोध गरेपछि पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले त्यहाँबाट ‘भाग्ने’ तयारी गरेको पाइएको छ ।

स्थानिय नेवार समुदायको चर्को विरोध र सहकारीको मुख्य भवनमै जस्ताले बारेर भवन प्रवेशमै अवरोध भएपछि सहकारीले त्यहाँबाट अन्यत्रै जाने तयारी गरेको हो ।

समय् फल्चा पुनर्निर्माण उपभोक्ता समितिले मंगलबार जस्ताले छेकेर सार्वजनिक जग्गाबाट सहकारीले नक्सापास विपरित बनाएको पूर्व तर्फको ढोकाबाट छिर्न निषेध गरेको थियो । पूर्व तर्फबाट भित्र प्रवेश गर्दा सहकारीले स्तुपा नजिकै सम्पदा माापदण्ड विपरित अन्डरग्राउन्ड पार्किङ समेत बनाएको थियो । स्तुपा लगायतको सम्पदासँगै जोडेर बनाइने भवनमा अन्डरग्राउन्ड पार्किङ बनाउन पाइँदैन । त्यसो त सहकारीसँग अन्डरग्राउन्ड पार्किङको नक्सा पास समेत नभएको स्रोतले बताएको छ । तर, समय फल्चा निर्माण भएपनि पार्किङ प्रवेश समेत निषेध भएको छ । सहकारीले वैकल्पिक रुपमा उत्तर तर्फ सानो ढोका बनाएर कर्मचारीलाई प्रवेश गराएको छ ।

‘अब हामी कुमारीपाटीमा रहेको आफ्नै जग्गामा सर्ने छौँ । त्यसका लागि प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले अनुगमन गरिसक्नु भएको छ,’ सहकारीको बजार प्रतिनिधिको रुपमा रहेका महर्जन थरका एक कर्मचारीले भने,‘अब यहाँबाट सार्नुको विकल्प छैन । यहाँ हामी सुरक्षित पनि छैनौँ भन्ने आभास भएको छ ।’

सहकारी स्रोतका अनुसार सहकारीका प्रमुख कार्यकारी निर्देशक/अधिकृत भण्डारीले ललितपुुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग व्यक्तिगत रुपमा दूश्मनी मोल्दा सहकारीले त्यहाँबाटै भाग्नुपर्ने अवस्था आएको हो ।

‘अब यो सहकारी यहाँ बस्न सक्दैन । यहाँकै जनताको बचत लिएर यहाँकै समुदायको आस्थाको केन्द्रमाथि प्रहार गर्न थालेपछि हामीले कसरी सहनसक्छौँ,’ फल्चा निर्माणमा सक्रिय एक बृद्धले दियोपोस्टसँग भने,‘आफै भागेर अर्को ठाउँमा जाने वा हामीले लखेट्ने अब दुई विकल्प मात्रै छ । त्यसमा पनि अब भवनको प्रवेशद्वार नै नभएपछि कसरी यो सहकारीको भवन यहाँ रहनसक्छ र ? भवनको प्रवेशद्वार बनाउने विकल्प पनि छैन । दक्षिण तर्फ ऐतिहासिक अशोक स्तुपा छ, पूर्व तर्फ समय् फल्चा बन्दैछ । उत्तर तर्फ सानो गल्ली छ । त्यो गल्लीबाट प्रवेश गर्ने सानो ढोकाको भरमा कसरी हुन्छ ? सम्पदासँग चुरिफूरी गर्दा यहाँबाट भाग्नुपर्ने अवस्था आयो ।’

 

करिब २ सय ६ वर्ष पुरानो ऐतिहासिक समय् फल्चाको भग्नावशेष मिचेर श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले भवन निर्माण गरेको थियो । उक्त भवन निर्माण क्रममा स्विकृत नक्सापास बेगर पूर्व तर्फबाट ढोका र सटर निर्माण गरिएको थियो । ललितपुर महानगरपालिकाले सर्वोच्च अदालतको आदेश र फैसला बमोजिम वार्षिक कार्यक्रम अन्तर्गत ३० लाख रुपैयाँ बिनियोजन गरेर फल्चा निर्माण थालेको थियो ।

फल्चा निर्माण थालेपछि सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीले ७ पटकसम्म सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा विभिन्न किर्ते कागजात पेश गरेर मुद्दा दायर गरेका थिए । तर, सबै अदालतमा उनको झूट पराजित भएको थियो । उनले कानुनी जालझेल गरेर फल्चा निर्माण रोक्न नसकेपछि सहकारीकै कर्मचारीलाई समेत विरोधमा उतारेका थिए । फल्चा पुनर्निर्माण उपभोक्ता समितिले गत असोज ११ गते नै मूल प्रवेशद्वार नै बन्द गरेर जस्ताले बारेको थियो ।

स्थानिय नेवार समुदायले सहकारीका कर्मचारीलाई समेत लखेटेको भिडियो दियोपोस्टले फेला पारी सार्वजनिक गरेको थियो ।

गत असोज ११ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको रोहबरमा सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीको राइकराईपछि ७ दिनसम्म पूर्व तर्फबाट ढोका प्रवेश गर्ने अनुमति पाएका थिए ।

तर, ७ दिने अल्टिमेटम मंगलबार सकिएपछि पूर्व तर्फको ढोका प्रवेश मार्ग नै बन्द भएको छ । समितिले जस्ताले तारबार लगाएर प्रवेशमा रोक लगाएको हो ।

सम्बन्धित खबर