सिआइबीमा सिभिल पीडितको लाइन :३ सय ७५ जनाको उजुरी, १ अर्ब ७५ करोड ३६ लाख भन्दा बढी ठगी !

diyopost.com
दियो पोस्ट  शुक्रबार, आश्विन २२, २०७८ | २१:१२:५७

काठमाडौं । सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङबाट ठगिएकाहरु प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीमा लाइन लाग्न थालेका छन् । देशभरबाट जम्मा भएका पीडितहरुले विगत तीन दिनदेखि सिआइबीको महाराजगन्जस्थित कार्यालयमा भिड लागेको छ ।

सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक एसपी श्याम कुमार महतोका अनुसार शुक्रबारसम्म ३ सय ७५ जना पीडितहरुले तामाङसहित पक्राउ परेका १२ जना विरुद्ध ठगीको जाहेरी दिएका छन् ।

शुक्रबारसम्म १ अर्ब ७५ करोड ३६ लाख भन्दा बढी रकम ठगिएको भन्दै बचतकर्ताहरुले उजुरी दिएका छन् । सिभिल सहकारीका अध्यक्ष तथा ऋण शाखाको प्रमुख केशवलाल श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले बचतकर्ताहरुको ८ अर्बभन्दा बढी बचत रकम हिनामिना गरेको आरोपमा उनीहरु दुई जनासहित १२ जनालाई सिआइबीले पक्राउ गरेको थियो । पक्राउपछि सिआइबीको कार्यालयमा पीडितहरुको भिड लाग्न थालेको छ ।

पीडितहरुले सिआइबीका डिआइजी धिरज प्रताप सिंहलाई भेट्दै आफ्नो दुखेसो पोख्ने गरेका छन् । ‘हजुर आएपछि हामीलाई कानुनी राज्यको अनुभूति भएको छ । भित्रै देखि न्याय पाउने आशा लागेको छ,’ डिआइजी सिंहको कार्यकक्षमा एक पीडितले  भरोसा पोखिन्,‘अब हामीले न्याय पाउँछौँ भन्नेमा ढुक्क छौँ ।’

पीडित भट्टराईका अनुसार सहकारीबाट ठगीनेहरु विदेशमा समेत छन् । पीडितहरुले आफूले जम्मा गरेको रकमको स्लिप र विदेशस्थित नेपाली दूतावासको छाप लगाएर सिआइबीको वेभसाइटमै उजुरी पठाउन मिल्ने सिआइबीले जनाएको छ ।

सिआइबी कार्यालयमा नेपाल सरकारकै अवकाश प्राप्त उच्च अधिकारी, विदेशस्थित कुटनीतिक नियोगबाट अवकास पाएका अधिकारी र शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिसम्मले उजुरी दिन पुगेका छन् । उनीहरुले रकम जम्मा गरेको प्रमाणका आधारमा सिआइबील तामाङसहित सहकारीका उच्च अधिकारी विरुद्ध ठगी मुद्दामा जाहेरी दर्ता गरिरहेको छ ।

सिआइबीका अनुसार उजुरी लिने क्रम निरन्तर जारी रहनेछ । सिभिल सहकारीमा बचत गर्नेहरुले सिआइबीको महाराजगन्जस्थित कार्यालयमा गएर ठगीको जाहेरी दिनसक्नेछन् ।

सम्बन्धित खबर