गुल्मी दुर्घटनामा घाइते भएकी खिमा थापाको अवस्था नाजुक बन्दै, उपचारमा समेत लापरबाही !

diyopost.com
दियो पोस्ट  शुक्रबार, कार्तिक ०५, २०७८ | २१:३९:४८

गुल्मी । गत असोज २८ गते गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर १० छहरास्थित दुर्घटना दुर्घटना हुँदा मुसिकोट नगरपालिका २ निवासी ७० वर्षका क्षेत्र बहादुर थापा, ४६ वर्षका राधिका थापा, १९ वर्षीया संगिता सुनारको मृत्यु भयो ।

उक्त दुर्घटनामा ६ जना घाइते भएका थिए । मुसिकोट नगरपालिका वडा नम्बर २ निवासी २६ वर्षका कमल थापा, सोही स्थानकी ४३ वर्षकी खिमा थापा, ३८ वर्षकी जुना थापा, २६ वर्षका राजु थापा,४७ वर्षकी सुमित्रा सुनार र चितवनको भरतपुर महानगरपालिका निवासी ५० वर्षकी राधा केसी घाइते भएका थिए ।

गुल्मी दुर्घटनामा घाइते मध्ये खिमा थापाको अवस्था नाजुक बन्दै गएको पाइएको छ । ९ वर्षअघि श्रीमान गुमाएकी खिमाले लोग्नेको उपचारमै आफ्नो सम्पत्ति सकाइन ्। ५ छोरीहरुको लालन पालनको जिम्मेवारी समेत उनकै काँधमा पर्यो । मेलापात गरेरै छोरीहरुको लालन पालन र शिक्षा दिक्षा दिएकी उनी असोज २८ को दुर्घटनाले आफै थला परेकी छिन् ।

दुर्घटनापछि खिमालाई यातयात समिति र नगरपालिकाले कुनै पनि सहयोग नगरेको उनको गुनासो छ । दुर्घटनामा परि उनको टाउकोमा गम्भिर चोट लागेको छ । तर, गम्भिर चोटको सामान्य उपचार समेत नभएको पाइएको छ ।
दुर्घटनापछि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजमा उनलाई उपचारका लागि लगिएको थियो । तर, उपचार समेत राम्रोसँग नगरि चार घण्टामै फोर्स डिस्चार्ज गरिएको उनका आफन्तले बताए । उनको टाउकोमा ९ टाँका र आँखामा ३ टाँका लगाइएको छ । दुर्घटनापछि आफ्नो हात गोडामा असैह्य पिडा भएपछि चिकित्सकले सिटामोल खान सुझाव दिएको उनले बताइन् ।

घाइते तथा मृतकलाई नगरपालिकाले सहयोग गरेपनि उनलाई भने भेदभाव गरेको आफन्तको गुनासो छ । ‘टाउको र आँखामा गम्भिर चोट लागेकाले निको हुन समय लाग्छ । तर, तत्काललाई गर्जो टार्ने उपाय छैन,’ उनको आफन्तले भने,‘दुर्घटनापछि मृतकलाई यातयात समितिले जनही ७५ हजार रुपैयाँ र नगरपालिकाले जनही २५ हजार रुपैयाँ दियो तर घाइतेले उपचार समेत पाएनन् ।’

गुल्मी यातयात प्रा.लीका सदस्य महेन्द्र केसीका अनुसार विरामीसँग अहिलेसम्म मिलापत्र नगरेको बताए । मृतकलाई समितिले ५ लाख रुपैयाँ दिने तयारी भएको उनले बताए । शुरुमा यस विषयमा प्रतिक्रिया लिन उनलाई सम्पर्क गर्दा घटनाको जानकारी कसले दियो भन्दै स्रोतको खोजीमा लागे । उनले विरामीले आफूहरुलाई कुनै पनि आधिकारीक जानकारी नगराएको समेत बताए । समितिले गर्ने कामका बारेमा आफूलाई भन्दा समितिका अध्यक्ष डोल बहादुर कुँवरलाई सम्पर्क गर्न उनले सुझाव दिए ।

कुँवरको नम्बरमा पटक पटक सम्पर्क गर्दा उनले भने फोन उठाएनन् ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले घाइतेको अवस्थाबारे आफूलाई हालसम्म कसैले जानकारी नदिएको बताए । ‘मलाई अहिलेसम्म त्यस्तो जानकारी आएको छैन । आर्थिक अवस्था कमजोर भएका कारण कसैले उपचारबाट बञ्चित हुन पर्दैन,’ उनले भने,‘उहाँको कोही मान्छे छन् भने मलाई सम्पर्क गराइदिनुस् । हामी सहयोग गर्दछौँ ।’

सम्बन्धित खबर