काठमाडौं । रूपन्देहीमा दुई जना किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा नौ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कञ्चन गाउँपालिका २ गोफ्लापुरस्थित बाटोमा हिँड्दै गरेका १५ र १६ वर्षका दुई किशोरीलाई बलात्कार गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको हो ।
१५ वर्षकी किशोरीलाई गैडहवा गाउँपालिका ८ स्थित देउराली सामुदायिक वनको जंगलमा लगेर बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१० का १८ वर्षीय बबी पाण्डे, सोही ठाउँका २६ वर्षीय रामबहादुर विक र अन्य तीन जना छन् ।
यस्तै १६ वर्षीया किशोरीलाई गैडहवा गाउँपालिका२ कुलिचौरस्थित कञ्चन खोलाको बगरमा लगेर बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका–११ वनकट्टीका १९ वर्षीय पदम कार्की, गैडहवा गाउँपालिका वडा नं। ८ का १८ वर्षीय राहुल परियार र अन्य दुई जना छन् ।
घटनाबारे सूचना प्राप्त भएपछि राति नै इलाका प्रहरी कार्यालयहरू रुद्रपुर, सूर्यपुरा र सालझण्डीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।